नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनशनरत डा गोविन्द केसीमाथि सरकारले औँला ठड्याए त्यसको परिणाम भयानक हुने चेतावनी दिएका छन्। उनले डा केसीलाई साधारण र सिंगो ब्यक्ति सम्झेर औँला ठड्याउन खोजे कांग्रेसको भुमिका सदनदेखि सडक सम्मै खरो बन्ने दाबी गरे। ‘डा केसी एक्लो हुनुहुन्न, उहाँसंग देश छ र देशको मुद्धा छ’, नेपाल प्रेस युनियन दाङले मंगलवार गरेको पत्रकार सम्मेलनमा प्रवक्त शर्माले भने, ‘देशको मुद्धा बोकेको व्यक्तिलाई कमजोर आँकेर प्रधानमन्त्रीले उहाँमाथि औँला ठड्याउने काम गर्नुभयो भने कांग्रेसले सदन मात्रै हैन, सडक पनि तताउँछ।’ प्रधानमन्त्री केपी शर्मा ओलीसंग डा। केसीले गरेको सहमति कार्यान्वयनमा किन बाधारु भन्दै उनले प्रश्न गरे, ‘प्रधानमन्त्री ज्यू भन्दा अरु ठूलो बहादुर को छ जसले प्रधानमन्त्रीले गरेको सहमति कार्यान्वयन गर्न नदिएर फरक विधेयक पेश गर्न दबाब पुर्यायो।’ यसको प्रमुख कारण उनले सरकारले आफ्नो शक्ति चिन्न नसकेको बताए। ‘सरकारले आफ्नो शक्ति चिन्न सक्नु पर्यो, प्रधानमन्त्री ज्यूले आफ्नो भूमिका थाहा पाउनु पर्यो,’उनले भने ‘अरु बहादुरहरुसंगको विवेक अनुसार चल्दा सरकारलाई किमार्थ फाइदा हुन्न।’












