रविन्द्र अधिकारी : शब्दचित्रमा

प्रकाशित मिति:

दलबहादुर गुरुङ \ कास्की जिल्लाको साविक भरतपोखरी गाविसको जामुनबोट गाउँमा बाबा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको सन्तानका रुपमा सम्वत् २०२६ सालमा रविन्द्रको जन्म भएको थियो । विद्यार्थी राजनीतिबाट अघि बढ्दै आएका रविन्द्र वर्तमान सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए । पोखरा महानगरपालिका वडा नं ५ को मालेपाटन स्थायी घर भएका रविन्द्रका बाबा आमा त्यहि बस्दै आएका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसमा २०४९ मा र कीर्तिपुरको त्रिविवि केन्द्रीय क्याम्पसमा २०५३ मा उनी स्वतन्त्र विद्यार्थी यूनियनका सभापति भएका थिए । त्यसैगरी २०५३ मै स्ववियू काउन्सिलको संयोजकमा समेत उनी निर्वाचित भएका थिए । २०५६ मा उनी अनेरास्ववियूका केन्द्रीय अध्यक्ष समेत भइसकेका थिए । सानैदेखि पढ्न तीक्ष्ण उनी त्रिविवि कीर्तिपुरबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका थिए । कास्की जिल्लाको क्षेत्र नम्बर ३ बाट उनी २०६४ र २०७० को संविधान सभाको चुनावमा विजयी भएका थिए । त्यसैगरी २०७४ सालमा कास्कीको २ नम्बर क्षेत्रबाट उनी प्रतिनिधि सभाको सदस्य पदमा निर्वाचित भएका हुन् ।

पञ्चायतका विरुद्ध आन्दोलनमा उनी पटक पटक जेल चलान भएका थिए । करिव आठ महिना जेल जीवन विताएका उनी तत्कालीन एमालेको कास्की जिल्ला सदस्य,सचिव र अध्यक्षमा निर्वाचित भएका थिए । २०७० को निर्वाचनपछि उनलाई पार्टीले व्यवस्थापिका संसद अन्तर्गत विकास समितिका सभापति समेत बनाएको थियो । प्रखर वक्ता र नेताका रुपमा चिनिने रविन्द्र नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का केन्द्रीय सदस्य समेत रहेका थिए ।  लेखक समेत रहेका रविन्द्रका संविधान सभा : लोकतन्त्र र पुनर्संरचना र समृद्ध नेपाल नाम दुई पुस्तक समेत बजारमा पाइन्छन् । सयौंका संख्यामा उनका अनुसन्धानमूलक लेखहरु पत्रपत्रिकामा समेत प्रकाशित छन् । २ छोरा विराज र विराट का पिता समेत रहेका रविन्द्रका जीवनसंगीनी विद्या भट्टराई आरआर क्याम्पसमा प्राध्यापनरत् छन् । विद्यार्थी आन्दोलनबाट खारिएर आएका उनी पछिल्लो पटक भ्रमण वर्ष २०२० को व्यवस्थापनमा तल्लीन थिए ।
पोखराबाट बहिनी गौरी तमू समेतको सहयोगमा तयारी पारिएको शब्दचित्र ।