यसकारण आउछ पसिना

प्रकाशित मिति:

तापमान नियन्त्रित राख्नका लागि शरीरमा पसिना आउनु जरुरी मानिन्छ । हाम्रो शरीरको तापमान ९८।६ डिग्री फरेनहाइट हुनुपर्छ । यसलाइ सन्तुलनमा राख्न शरीरमा २५ लाख पसिनाका ग्रन्थी हुन्छन् । यी ग्रन्थीले एयरकन्डिसनिङको काम गर्छन् । बाहिरी कारण होस् या खानपान, तातो बढेपछि शरीर चिसो बनाउन यी ग्रन्थीबाट पसिना निक्लन सुरु गर्छन् । पसिना हावामा सुकेपछि शरीरको तापमान कम हुन्छ।

हरेक मानिसको शरीरलाई पसिनासम्बन्धी आवश्यकता अलग–अलग हुन्छन् । कसैलाई पसिना कम आउछ भने कसैलाई बढी । त्यसैले शरीरमा कति पसिना आउनुपर्छ भनेर कसैले निर्धारण गर्न सक्दैन, शरीरको आवश्यकताअनुसार निर्धारण हुन्छ । पसिनाले शरीरलाई हानी गर्ने खालका पदार्थ जस्तै, अल्कोहोल, कोलेस्टेरोल तथा नुनको मात्रालाई बाहिर निकाल्छ । पसिनामा प्राकृतिक रुपमा एन्टी माइक्रोबियल पेप्टाथाइड हुन्छ, जसले क्षयरोगजस्ता रोगका किटाणुबाट रक्षा गर्छ।

पसिना आउने प्र्रक्रियाको सम्बन्ध बाहिरीमात्र नभई आन्तरिक पनि हुन्छ । चिन्ता, डर या तनावजस्ता अवस्थामा पनि पसिना आउछ । यसका अलावा यौवनावस्था सुरु हुँदा शरीरमा हुने हार्मोनको परिवर्तनका कारण शरीरका पसिना ग्रन्थीहरु सक्रिय हुन्छन् । यस्तो सबै व्यक्तिमा हुन्छ । तर हाइपरहाइड्रोसिसको समस्याबाट पीडित व्यक्तिमा सामान्य मानिसमा भन्दा बढी पसिना आउछ । त्यो पसिना ब्याक्टेरियाको सम्पर्कमा आएपछि शरीरबाट दुर्गन्ध आउछ।