घनश्याम पाठक \ एसईई परीक्षालाई विद्यार्थी र अभिभावकले गाह्रो र कठीन ठान्ने अनि मनोवैज्ञानिक भयमा रहने गरेका छन् । तर त्यस्तो विल्कूल होइन, एसईई परीक्षालाई पनि अन्य परीक्षा जस्तै सहज रुपमा लिएर पूर्ण आत्मविश्वासका साथ उत्तर लेखेमा राम्रो नतिजा ल्याउन सकिन्छ । अनावश्यक तनाव लिने कारण धेरै परीक्षार्थीले जानेका कुरा पनि बिर्सने र राम्ररी लेख्न नसकेर नतिजा बिगार्ने गर्छन् । यसकारण निम्न कुराहरुलाई परीक्षार्थीहरु र अभिभावकहरुले समेत ध्यान दिई व्यवहारमा कार्यान्वयन गरेमा परीक्षामा सफलता प्राप्त गर्न सक्दछन् । एसईई परीक्षामा कसरी राम्रो गर्ने भन्ने सम्बन्धमा विद्यार्थी र अभिभावकलाई उपयोगी र सहयोगी हुन सक्ने केही टिप्सहरु यस्ता छन् ।
१. अघिल्लो दिनको तयारी – घरमा अभिभावकहरुले रमाईलो वातावरणको सिर्जना गर्नका लागि सहयोग गरिदिने । कुनै प्रकारको तनाब उत्पन्न हुने खालका कृयाकलापहरु घरमा हुन नदिनका लागि पहल गर्ने । – सकेसम्म परीक्षाको समयमा अभिभावकहरु आफ्ना बालबालिकाहरुसँगै बस्ने । परीक्षा केन्द्रसम्म आफैले पु¥याइदिने र उत्साह भर्ने काम गर्ने । – भोलि परीक्षा छ, पढ पढ .. भनेर छोराछोरीहरुलाई दवाव नदिने । स्वतन्त्र रुपमा छाडिदिने । सल्लाह मात्र दिने र निगरानीमात्र राख्ने । –परीक्षाको अघिल्लो दिनको शरीरलाई अपच हुने किसिमले खाना नखाने । पानी प्रशस्त पिउने । – परीक्षाका लागि आवश्यक पर्ने सामग्रीहरु जस्तै कलम, जियोमेट्री बक्स, क्याल्कुलेटर र प्रवेशपत्र एकैस्थानमा ठिक्क पारेर राख्ने । – राती अबेरसम्म नबस्ने, सुत्नुअघि एक गिलास मनतातो पानी पिएर सुत्ने बरु विहान सबेरै उठेर आफ्नो तयारीका साथै पुनरावलोकन गर्ने । – परीक्षा केन्द्रमा पुगेर वा परीक्षाको दिन नयाँ कलम किन्नु हुँदैन । आफूले लेखिरहेको कलम कम्तिमा ३ वटा जति ठिक्क पारेर राख्नुपर्छ ताकि कलमको कारणले परीक्षामा धोका नहोस् । )
२ . परिक्षाको दिन
विहान आफूले आस्था राखेको भगवानको आराधना गर्ने वा प्रार्थना गर्ने यसले आपूप्रति आत्मविश्वास जगाउन मद्दत गर्दछ ।
–विहान हल्का नास्ता खानुपर्छ भोकै परीक्षा दिन जानु हुँदैन । –विद्यालय पोशाक वा हल्का रङका पोशाकहरु लगाउनु पर्छ । आफूलाई सहज हुने पोशाक लगाउने । – परीक्षाका लागि प्रवेशपत्र लगायत अघिल्लो दिन नै तयारी गरेका सामग्रीहरु लैजान कुनै हालतमा पनि नबिर्सने ।
– सकभर सम्भव भएसम्म आफ्ना घरपरिवारका सदस्यहरुसँग नै परीक्षा केन्द्रमाड्ड जानु पर्दछ । नभए आफ्नो मन मिल्ने साथीहरुसँगै रमाईलो कुराकानी गर्दै परीक्षा केन्द्रमा जानुपर्छ । यसरी गरिने कुराकानीहरुमा केही रुपमा विषयवस्तुहरु पनि समेटिउन् ।
– पहिलो दिनमा ४५ मिनेट अगाडी र अरु दिनमा आधा घण्टा अघि परीक्षा केन्द्रमा पुग्ने गरी पूर्ण तयारीका साथ घरवाट निस्कनु पर्दछ ।
३. परीक्षा केन्द्र जाँदा
– आफूले परीक्षाको लागि आवश्यक पर्ने सामग्रीहरु वाटोमा सुरक्षित साथ लैजानका लागि ध्यान दिनुपर्दछ । – मनमा कुनै पनि डर र त्रासको भावना पैदा हुने कुराहरु कत्तिपनि सोच्नु हुँदैन । सबै मैले पढेका विषयहरु त हुन् जानेकै र पढेकै पाठहरुवाट नै प्रश्नहरु आउने हुन् भन्ने कुरा मनमा सोच्नुपर्दछ ।
४. परीक्षा केन्द्रमा पुगेपछि
– गेटमा पुगेर सुरक्षाकर्मी वा कसैलाई प्रवेश पत्र देखाएर भित्र पस्नुपर्ने हुन्छ । त्यसैले त्यसको पूर्व तयारीका साथ गेटमा पुग्ने ।
– परीक्षाकेन्द्रमा पुगेर कुनै पनि कुरा पढ्ने घोक्ने वा रट्ने गर्नु हुँदैन र साथीहरुसँग धेरै कुराकानी नगरीकन आफूले जांच दिने कोठा खोज्नतर्फ लाग्नुपर्छ । – आफ्नो कोठा पत्ता लागिसकेपछि १५ मिनेट अगावै परीक्षा हलमा पसेर आफ्नो सिम्बोल नम्बर भएको स्थानमा बस्नुपर्दछ ।
५. परीक्षा हलमा
– परीक्षा हलमा परीक्षार्थीले विताउने तीन घण्टाको समय निकै महत्वपूर्ण हुन्छ । यस समयको सही सदुपयोग र केही सामान्य कुराको हेक्का राख्न सकिएमा परीक्षामा सोधिएका प्रश्नहरुको समाधान सहज रुपमा दिन सकिन्छ । कतिपय विद्यार्थीहरुलाई यस कुराको सही ज्ञान नहुँदा परीक्षा सकिएपछि पछुताउनु वाहेक अरु केही हुँदैन ।
क) उत्तरपुस्तिका पाएपछि – सर्वप्रथम उत्तर पुस्तिकाको अवस्था हेर्ने यदि कतै च्यातिएको छ वा कतै खुम्च्एिको उत्तर पुस्तिका छ भने तुरुन्त निरीक्षकलाई भनेर कपी साट्नु पर्दछ । – उत्तर पुस्तिकामा आफ्नो नाम नलेखी सिम्बोल नम्बर अंक र अक्षर दुबैमा स्पष्टसँग केरमेट नगरीकन लेख्नुपर्दछ – सिम्बोल नम्बरलाई पुनः प्रबेशपत्र अनुसार जाँच गरि मिले नमिलेको एकिन गर्नु पर्दछ । अन्य विवरणहरुमा परीक्षाको मिति, विषय, पत्र, स्क्रिप्ट (भाषा), राम्ररी नआत्तिईकन लेख्नुपर्दछ । – मार्जिन मिलाउने अनि संभव भएसम्म दायाँ, बायाँ धर्का तान्ने गर्नुपर्दछ । (कपीमा नै पहिल्यै धर्का भएमा तान्नु आवश्यक छैन ।) – आफ्ना सबै सामग्रीहरुको पूर्ण रुपमा तयारी गरी राख्नुपर्दछ । – यी सबै काम सकेपछि धैर्य भएर प्रश्नपत्रको प्रतिक्षा गरी बस्नुपर्छ ।
ख) प्रश्नपत्र पाएपछि
– प्रश्नपत्र पाएपछि प्रश्नहरु पुरा भए वा नभएको, नछापिएको, काटिएको, मधुरो भएको अवस्थामा निरीक्षकलाई तुरुन्त जानकारी गराई अर्को प्रश्नपत्र लिनु पर्दछ । सवै प्रश्नहरुलाइ सर्सती एकपटक हेर्नु पर्दछ । यसरी पहिल्यै हेरिएमा ढुक्क हुन सकिन्छ र मस्तिष्कमा उत्तरको खाका पनि तयार हुँदै जान्छ ।
ग) प्रश्नहरु समाधान गर्ने क्रममा
– प्रश्न समाधान गर्नुपूर्व प्रत्येक प्रश्नहरुको प्रश्न नम्बर अनिवार्य रुपमा लेख्नु पर्दछ । प्रश्न नसारीकन उत्तर लेख्नुपर्दछ ।
जस्तै : प्रश्न नम्बर १ को उत्तर – विशेष गरी व्याकरणमा खाली ठाउँ भर्ने, सही उत्तर छानेर भर्ने जस्ता प्रकृतिका प्रश्नहरुमा भने प्रश्न लेख्ने गर्नु पर्दछ । प्रश्नमा दिइएको निर्देशन राम्ररी अध्ययन गरी उत्तर लेख्नु पर्दछ । – संभव भएसम्म क्रमानुसार नै प्रश्नहरुको समाधान गर्नु राम्रो हुन्छ । कुनै प्रश्नको उत्तर नआएमा त्यसलाई छोडेर अर्को प्रश्नको उत्तर लेख्नुपर्छ । त्यही प्रश्नमा नै अल्झिएर समय खेर फाल्नु हुँदैन ।
– फरक छुट्टयाई लेख्नुपर्ने, पत्र लेख्नुपर्ने, चित्र बनाउनुपर्ने जस्ता प्रश्नको समाधान सकेसम्म एउटै पेजमा अट्नेगरी लेख्नुपर्दछ । कुनै पेजमा उत्तर लेखेर थोरै मात्र ठाउँ छ भने अर्को पेजमा लेख्नुपर्दछ । – प्रत्येक प्रश्नको उत्तर लेखिसकेपछि दुई लाईन जति छाडेर अर्को प्रश्नको उत्तर लेख्नुपर्दछ । यसो गर्दा कपी सफा र आकर्षक देखिन्छ । – कलममा मसीको प्रयोगका हकमा भने सकभर नीलो मसी प्रयोग गर्दा धेरै राम्रो हुन्छ । चित्र सिसा कलमले बनाउनु पर्दछ । कलमको मसी वा कलम नै परिवर्तन गर्नुपर्ने अवस्था आएमा निरीक्षकलाई जानकारी गराएर हस्ताक्षर गराई मात्र प्रयोग गर्नु पर्दछ । – कुनै दुईको वा तीनको मात्र उत्तर दिनुहोस् भनिएका निर्देशनहरुलाई राम्ररी बुझेर मात्र उत्तर लेख्नु पर्दछ नत्र अनावश्यक रुपमा बढि प्रश्नहरु हल गर्दा समय पुग्दैन । अन्य प्रश्न छुट्न सक्छन् । – परीक्षा हलमा साथीहरुसँग कुराकानी गर्नु हुँदैन । परीक्षाको मर्यादालाई कायम राखी उत्तर लेखनमा व्यस्त रहनु पर्दछ । – हाजिरी अनिवार्य रुपमा गर्नु पर्दछ । हाजिरी विवरण भर्दा आफ्नो सिम्बोल नम्बर, मूल कपीनम्बर, विषय, आफ्नो नाम र हस्ताक्षरका विवरणहरु राम्ररी नआत्तिएर भर्नुपर्दछ । नबुझेमा निरीक्षकलाई सोध्नुपर्दछ । – जुन प्रश्नहल गरिन्छ त्यसलाई प्रश्नपत्रमा सानो ठीक लगाउनु पर्दछ । जसले गर्दा प्रश्नहरु छुट्ने सम्भावना हुँदैन ।
– कपि सकिनुभन्दा ५ मिनेट अगावै निरीक्षकसँग उठेर थप कपी माग्नुपर्दछ । पूर्ण रुपले सकिएपछि मात्र कपी माग्नु हुँदैन यसो गर्दा कपी माग्दा निरीक्षकले कपी ल्याएर दिँदा एक, दुई मिनेटको समय त्यसै खेर जान्छ । परीक्षामा सेकेण्ड समयको पनि निकै महत्व हुन्छ । अगाडी नै थप कपी मागेर निरीक्षकले कपी दिँदै गर्दाको समयमा पनि आफूले लेख्दै गर्नुपर्दछ ।
घ) सबै प्रश्नको उत्तर लेखेपछि
सकभर समयको व्यवस्थापन गरेर अन्तिममा १० देखि १५ मिनेट बचाउनु पर्दछ । यो बाँकी समयमा लेखेका उत्तरहरु पढ्ने कतै केही गल्ती भेटिएमा सुधार गर्ने धेरै नै शब्द गल्ती भेटिएमा धेरै फोहर नगरीकन एक लाईनले चट्ट काटेर सफा अक्षरमा लेख्नुपर्दछ । कतै केही कुरा छुट भएमा पनि लेख्न सकिन्छ । – खाली ठाउँमा भरेका शब्दलाई अन्डरलाइन गर्नुपर्दछ । – समय भएमा आफूले लेखेका उत्तरहरु (हिसाब आउने विषयहरुका हकमा) प्रश्नपत्रमा टिपोट गर्नुपर्दछ । – कपीको अन्तमा समाप्त, Best of luck आफ्नो सम्पर्क फोन
नम्बर, कपी परीक्षकहरुलाई आफ्ना कथा ब्यथाहरु लेख्ने अनि मलाई जसरी पनि पास गरिदिनुहोला लगायतका अनुनय विनयका कुराहरु पटक्कै लेख्नुहुँदैन । सही उत्तर लेखिएका कपीहरुको सही रुपमा मूल्याङ्कन हुन्छन् । त्यस्ता कुराहरु लेखिएमा कुनै अर्थ रहँदैन ।
ङ) उत्तरपुस्तिका बुझाउँदा
– राम्ररी सबै थप कपीहरु राम्ररी स्टिच (नथ्थी) गर्नु पर्दछ । संभव भएसम्म स्टिच मेशीन पनि आँफैले लैजाँदा राम्रो हुन्छ ।
– कपी थपीएको विवरण मूलउत्तर पुस्तिकामा उल्लेख गर्नुपर्दछ जसका लागि निरीक्षकलाई वा आँफैले पनि १ं प्लस १ प्लस १ लेख्नुपर्दछ । आँफैले लेखेमा निरीक्षकसँग रुजु गराउनु पर्दछ । –उत्तरकपी परीक्षा हलमा खटिएका निरीक्षलाई नै बुझाउनुपर्दछ ।
च) परीक्षाहलवाट बाहिरिनु अगाडि – प्रवेशपत्र लगायत आफ्ना सम्पूर्ण परीक्षाका सामग्रीहरु सम्झेर ल्याउनुपर्दछ ।
छ) हल बाहिर निस्केर – परीक्षा के भयो कस्तो भयो भनेर साथीहरुसँग सामान्य रुपमा छलफल हुनु त स्वभाविकै हो तर यसमा धेरै समय खर्चिनु हुँदैन ।– खुसी भएर मैले जे गरेको छु राम्रो गरेको छु भन्ने सम्झिएर घर वा स्कूलको होस्टेल जानुपर्दछ ।
५. घरमा पुगेर– परिवारका सबै सदस्यहरुलाई परीक्षामा के कस्तो भयो भनेर जानकारी दिनुपर्दछ । फ्रेस भएर आराम गरी अर्कोदिनको परीक्षाको तयारीमा पूर्ववत अनुसार लाग्नुपर्दछ ।
(लेखक पाठक सबैभन्दा धेरै विद्यार्थी संख्या भएको नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय कालिका मानव ज्ञान मावि बुटवलका प्रधानाध्यापक हुन् ।)












