काठमाडौं –सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई हेग लगे झनै हिरो हुने बताएका छन्। सोमबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य रमण घिमिरेलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले हेगले आफूलाई झनै हिरो बनाउने बताएका हुन्।
अध्यक्ष प्रचण्डले हेगमा पुर्याए भने आफूबारे संसारका जनताले बुझ्न पाउने दावी समेत गरे। ‘उनले भने, मलाई हेगमा पु¥याए भने त संसारका जनताले यो त न्याय र शान्तिका पक्षमा रहेछ भनेर बुझ्न पाउँछन्।’ केही व्यक्ति र संस्थाले कतिपय जनयुद्धकालीन मुद्दालाई लिएर तत्कालीन नेतृत्वविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने बताइरहेका बेला प्रचण्डको यस्तो भनाइ सार्वजनिक भएको हो। केही व्यक्तिहरुलाई शान्ति प्रक्रिया, गणतन्त्र, समावेशिता मन नपरेको र यसको नेतृत्व गर्नेलाई सध्यिाउन पाइयो भने यो व्यवस्था नै उल्टाउन पाइनेथियो भनेर षड्यन्त्रमा लागिरहेको भन्दै उनले यस्तो षड्यन्त्र सफल नहुने बताए।
‘परिवर्तन विरोधी तत्वले प्रचण्डलाई हेगमा लैजाने र एक दिन भए पनि जेलमा हाल्ने षड्यन्त्र बुनेका छन्, ‘अध्यक्ष प्रचण्डले भने, ‘हेग लगे भने त म झन् विश्वकै हिरो भएर निक्लिन्छु, तर यिनीहरुले मलाई हिरो बनाउन हेग लैजान्छन् जस्तो लाग्दैन।’ विप्लव नेकपाबाट सत्तारुढ नेकपामा प्रवेश गरेका घिमिर लगायतका नेताहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले अन्ततः विप्लव पनि नेकपामै आउनुपर्ने बताए। उनले विप्लवले लिएको लाईनबाट परिवर्तन सम्भव नभएको भन्दै अन्ततः यही बाटोमा आउनुपर्ने दावी गरे।












