ओखल्ढुङ्गा – स्वास्थ्य चौकीका अहेब मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका ९ ज्यामिरे स्थित ‘ज्यामिरे स्वस्थ्य चौकी’का अहेब अन्दाजी ४१ वर्षीय पृथ्वी बहादुर बानियाँ मृत अवस्थामा फेला परेका हुन् । बुधबार बिहान घरबाट कार्यलय हिँडेका बानियाँ मध्यान्ह मृत अवस्थामा फेला परेका स्थानीय टोकल श्रेष्ठले जानकारी दिए । कार्यलय हिडेका बानियाँले स्थानीय कुमार वाग्लेले सञ्चाल गरेको उमा एण्ड युना किराना पसलबाट चारवटा प्लाष्टिको बोटलभित्र रहेको मादक पदार्थ सेवन गरेका थिए ।
उनले धेरैपछि आफन्त भेटेको भन्दै पहिले तीन वटा र पछि पुनः एकवटा बोटलको रक्सी खाएको पसल सञ्चालक कुमार वाग्लेले बताए । मादक पदार्थ सेवन गरेका उनी होटलभन्दा करीब १० मिटर टाढा रहेको शौचालय पछाडिपट्टी मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले घटनाको बिषयमा अनुसन्धान भइरहेको बताए । उनले मृतकले मादक पदार्थ सेवन गरेको भएपनि अनुसन्धान पछि मृत्युको कारण पत्ता लाग्ने बताए ।-न्युज२४नेपाल










