काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका महासचिव विष्णु पौडेल मात्रै गएका छन्। पौडेलसँग जान लागेका संगठन विभाग प्रमुख वामदेव गौतमको टिकट सोमबारै राति रद्द भएपछि पौडेल एक्लै सिंगापुर गएका हुन्।
गौतमले टिकट पक्का गरेको केही घण्टामै रद्द भएपछि पौडेल एक्लै सिंगापुर उडेका हुन्। प्रम ओलीको मिर्गौलाको उपचार सकिन लागेको छ। ओलीको मिर्गौलाको अन्तिम परीक्षण बुधबार हुँदैछ। ओलीको पछिल्लो स्वास्थ्यअवस्था बुझ्न मंगलबार त्यसतर्फ गएका हुन्। पौडेल एक्लै दिउँसो १ बजे सिंगापुर उडेका हुन्। उनी सिंगापुरबाट प्रधानमन्त्रीसँगै स्वदेश फर्किने पनि छन्। मिर्गौलाको परीक्षण सकिएपछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ। भदौं ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका छन्।












