चितवन – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा नयाँ मण्डलेहरुको उदय भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जनताले आफ्ना विचार राख्न नपाउने, बोल्न नपाउने, केहि गर्न नपाउने जस्ता पञ्चायत कालमा पनि नभएको बताए ।
उनले भने, “मुलुकमा नयाँ मण्डलेहरुको उदय भएको छ । मण्डलेहरुलाई जवाफ दिन अब जरुरी छ ।” देशमा अधिनायकवाद सुरु भइसकेको भन्दै उनले कांग्रेसले यसको भर्त्सना गरेर मात्रै नहुने र कडा कदम चाल्न जरुरी रहेको बताए । दुईतिहाइको आडमा अहिले कम्युनिष्टहरुले कांग्रेसमाथि हमला सुरु गरेको भन्दै उनले कम्युनिष्टहरुले आफ्नो विचार पनि पोख्न नपाउने बनाइसकेको गुनासो गरे ।












