त्रिविक्रम बस्याल/बुटवल –
उ मजदुर हो
चुनाव जिताउने
निर्णायक भोट उस्को हो
उ सबैको भोट बैंक हो
उसले खाली पेट टाल्ने गर्छ
मालिकका भत्किएका चेहराहरु ।
पसिना उसको हो
मालिकले तोक्छ उसको पसिनाको मूल्य
आँसु र पसिनाको सितन बनाएर छाक टार्छ
हरेक उषामा खालीपेट दौडिन्छ, उहीँ पसिना बेच्न
अाज पसिना बिक्रि नभएर उ भोकै छ ।
उ मजदुर हो
उसको मजबूरी वर्षौ यता यस्तै छ ।

मालिकले
उसकै नाम बेचेर नेताको पदवी थाप्यो
आज उ आफ्नै मालिकबाट लखेटिएको छ
खाली खुट्टा र रित्तो पेट बोकेर
सयौं माइल दूरको यात्रामा हिड्न बाध्य छ ।
हिजो आफैले पसिना बगाएको सडक
उसले खाली खुट्टा नाप्दैछ
सुदुर पुर्व देखि सुदुर पश्चिम सम्म
राजमार्ग देखि बाटो नपुगेको आफ्नो घर सम्म ।
उ मजदुर हो
उसको मजबूरी सताब्दियौ देखि यस्तै छ ।
हिजोको पौरखी उ अाज खाली छ
भोको पेटलाई शान्त पार्न
मालिक सामु लम्पसार पर्दा
मालिकको एक दृष्टि पनि परेन
केही दिन यता भोकै आकाशको छानो मुनि सुतेको उसले
केही डर बोकेर चुपचाप, खाली पेट र खाली खुट्टा
नापीरहेछ राष्ट्रको दुरी र मालीकको राष्ट्रियता ।
खोजिरहेको छ सधैं बल्ने चुलो
र इज्जतका साथ बाँच्न पाउने देश ।












