शान्तिमा जारी फुटबलमा सेमिफाइनल समिकरण पूरा

तिलोत्तमा, असोज १८ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगितामा शुक्रबार क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा शुक्रबार भएका खेलहरुबाट सेमि फाइनल समिकरण पूरा भएको हो । आज भएको खेलबाट होराइजन जिविएस, शान्ति नमुनाको समूह बि, अक्सफोर्ड मा.वि. र न्यू होराइजन मा.वि. सेमिफाइनलमा प्रवेश गरेको शान्ति स्पोर्टस कलवका सचिव दिनेश खड्काले जानकारी दिनुभयो ।
आजको खेलमा शान्ति नमुना टिम ए का शिखर चौधरी, सिद्धार्थ इङ्लिश बोर्डिङ स्कुलका यम बहादुर राना, विश्व एकता एकेडेमीका आकाश सारु र र क्यानन मा.वि.का केशव न्यौपाने म्यान अफ दि म्याच भई पुरस्कृत भएका छन् ।
शनिबार बिहान ७ बजे हुने पहिलो सेमिफाइनल खेलमा होराइजन जिविसले शान्ति नमुना समूह बि को सामना गर्नेछ भने ८ बजे हुने दोस्रो सेमिफाइनल खेलमा अक्सफोर्ड मा.वि.र न्यू होराइजन मा.वि.आमने सामने हुने छन् ।
प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।

 

शान्तिको फुटबलमा सञ्जीवनी, न्यू इन्भाइरमन्ट र क्यानन विजयी

तिलोत्तमा, असोज १५ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा मंगलबारदेखि जिल्ला स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा मंगलबारको खेलमा सञ्जीवनी शिक्षा सदन, न्यू इन्भाइरमन्ट बोर्डिङ र क्यानन मा.वि. विजयी भएका छन् ।
पहिलो खेलमा सञ्जीवनीले जनज्योती मा.वि.लाइ ३–० गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
त्यस्तै दोस्रो खेलमा न्यू इन्भाइरमन्टले स्कलर्श होमलाई पेनाल्टी सुट आउटमा हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि पेनाल्टीबाट विजेताको टुङ्गो लगाइएको थियो ।
यस्तै तेस्रो खेलमा क्यानन मा.वि.ले दुर्गादत्त मा.वि.लाई ५–० गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
पहिलो खेलमा जनज्योती मा.वि.का विष्णु न्यौपाने, दोस्रो खेलमा स्कलर्श होमका धिरेन राकस र तेस्रो खेलमा दुर्गादत्त मा.वि.का माधव घिमिरे म्यान अफ द म्याच भएर पुरस्कृत भएका छन् ।

यसअघि विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।
प्रतियोगिता अन्तरगत बुधबारको खेल पशुपति मा.वि. र गार्गी मा.वि.बिच, ग्रिन प्लान्ट बोर्डिङ र होराइजन जि.वि.एस.बिच तथा देवदह बोर्डिङ र अक्सफोर्ड मा.वि. बिच हुने शान्ति स्पोर्टस क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले जानकारी दिनुभयो ।
प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।

शान्ति नमुनामा सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

तिलोत्तमा,असोज ९ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच प्रतियोगिता हुन लागेको हो ।
यहि असोज ११ गतेदेखि हुने सेभेन ए साइड फुटवल प्रतियोगितामा करीव २५ समूहको सहभागिता रहने छ । रुपन्देहीका विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुबीच सद्भाव र मैत्रीभाव बढाउने उद्धेश्यले प्रतियोगिता राखिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो ।
गत वर्ष जस्तै यस वर्ष पनि जिल्ला स्तरीय प्रतियोगिताको माध्यमबाट खेल भावना र सहकार्य गर्ने मान्यताको विकास होस् भनेर प्रतियोगिता आयोजना गरिएको शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।
शान्ति नमुनाको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।

 

 

शान्ति नमुनामा जिल्लास्तरीय चेस प्रतियोगिता सम्पन्न

तिलोत्तमा, असोज ६ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले आयोजना गरेको दुई दिने जिल्ला स्तरीय अन्तर विद्यालय चेस प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा दीप बोर्डिङ्गका टोपराज अधिकारी प्रथम, एभरेष्ट बोर्डिङ्गका साइरस बज्रचार्य द्वितीय र शान्ति नमुनाका सुशान्त अर्याल तृतीय भएका छन् ।
यस्तै छात्रातर्फको विधामा एभरेष्ट बोर्डिङ्गकी सन्जीमा क्षेत्री प्रथम, गार्गी एकेडेमीकी सिसम राना द्वितीय र न्यू होराइज बोर्डिङ्गकी रितिसा आचार्य तृतीय भएका छन् । विजेताहरुलाई नगद, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । प्रतियोगितामा रुपन्देहीका १६ वटा विद्यालयका ६६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बोल्दै विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धिका लागि प्रतियोगिता निकै फलदायी भएको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन दिनेश खड्काले गर्नुभएको थियो भने प्रतियोगिताको संयोजन शान्ति क्लवका संयोजक सुमन श्रेष्ठले गर्नुभएको थियो । प्रतियोगिताको मूल्याङ्कनकर्ताको रुपमा डा. बद्रि थैव, शिवम बि.क.,अंकित पोखरेल, जमिर अलीले योगदान पु¥याउनु भएको थियो । विजेताहरुलाई रुपन्देही बुद्धिचाल संघका सचिव शिखर रेग्मी, विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्य, बाल क्लवका संयोजक रजनी के.सी लगायतले शुभकामना दिनुभएको थियो ।

 

शान्ति नमुनामा राष्ट्रिय सेवा दल सिनियर डिभिजनको प्रथम प्रवचन

तिलोत्तमा, २७ साउन । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको प्रथम प्रवचन कार्यक्रम गरिएको छ । कार्यक्रममा तारादल गण रामनगर, रुपन्देहीका प्रमुख सेनानी सञ्जीव सिंह सिंजापतिले तालिमका सन्दर्भमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा समन्वय अधिकृत सेनानी कान्छा शाहीले तालिमको सन्दर्भमा सहजिकरण गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कुलप्रसाद लामिछानेले एनसिसि सिनियर डिभिजनलाई उत्कृष्ट बनाउनका लागि विद्यालयको तर्फबाट हरेक प्रकारको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
सहायक प्रधानाध्यापक लोकनाथ कंडेलको स्वागत तथा अर्का सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यको सञ्चालनमा भएको कार्यक्रममा तालिमको प्रकृति, अवधि र पालना गर्नुपर्ने नियमहरुका सन्दर्भमा विद्यार्थीहरु र उनीहरुका अभिभावकहरुलाइ जानकारी गराइएको थियो । साउन २७ गतेदेखि ७९ दिनसम्म विद्यालयमा तालिम सञ्चालन गरिने भएको छ भने तत्पश्चात २१ दिन नेपाली सेनाको ब्यारेकमा तालिममा सहभागी गराइनेछ । १ सय १५ जना विद्यार्थीहरु प्रारम्भिक छनौट चरणमा सहभागी भएकोमा ५५ जना अघिल्लो चरणका लागि छनौटमा परेका थिए । ती मध्ये ३६ जना अन्तिम चरणका लागि छनौट भएर तालिममा सहभागी भएका हुन् ।
तालिम अवधिभर जमदार प्रेम बञ्जाराले प्रमुख प्रशिक्षण दिनुहुनेछ भने इश्वर उपाध्याय र सन्तोष रेग्मीले विद्यालयमा रहेर सहजिकरण गर्नुहुनेछ । त्यस्तै विद्यालयमा एनसिसि समन्वय शिक्षकको रुपमा रञ्जित भण्डारी रहनुभएको छ ।
शान्ति नमुनामा यसअघि जुनियर डिभिजन समूह क्रियाशिल रहेकोमा उक्त समूहले दुईपटक वेष्ट प्लाटुनको उपाधि प्राप्त गरेको थियो । सिनियर डिभिजनको भने यो पहिलो समूह हो ।

शान्ति नमुनाबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु सम्मानित

तिलोत्तमा, साउन २५ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयबाट यस वर्ष कक्षा १२ को परीक्षामा सरिक भई उत्तीर्ण भएका विद्यार्थीहरुलाई आज शुक्रबार सम्मान कार्यक्रम गरिएको छ ।
शान्तिबाट परीक्षामा सहभागी भई उत्तीर्ण भएका ए प्लस ल्याउने ४५ जनासहित ६ सय १६ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सत्यदेव मौर्यले ३.८८ जिपिए सहित विद्यालयबाट सर्वोत्कृष्ट हुन सफल भएका हुन् । यस्तै व्यवस्थापन समुहबाट मिलन खनाल, कानुन समुहबाट स्नेहा अर्याल, शिक्षा समुहबाट अस्मिता हमालले सर्वोत्कृष्ट हुन सफल भएका छन् ।
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शैक्षिक उचाइ चुम्नका लागि शान्ति नमुनाले गरेको कार्य प्रसंशनीय रहेको भन्दै तिलोत्तमालाई शैक्षिक हव बनाउनुपर्ने र त्यसका लागि नगरपालिका सधै तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डुम्रे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई, सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्य, कक्षा ११–१२ का संयोजक राजेन्द्र केसी., लगायतले बोल्दै एउटा कक्षाको नतिजालाई लिएर मात्रै समग्र शैक्षिक यात्राको मूल्याङ्कन नहुने भन्दै विद्यार्थीहरुलाई आगामी दिनमा थप शैक्षिक सफलताको शुभकामना दिनुभएको थियो ।
विद्यालयका कक्षा १२ का संयोजक धु्रवराज अर्यालको स्वागत तथा शिक्षक दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन खट्ने शिक्षक कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरु सत्यदव मौर्य, केदार ज्ञवाली लगायतले बोल्दै विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

शान्ति नमुनामा राष्ट्रिय सेवा दलको लागि अभिमुखिकरण

तिलोत्तमा, २४ साउन । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल सिनियर डिभिजनको अभिमुखिकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा तारादल गण रामनगर, रुपन्देहीका समन्वय अधिकृत सेनानी कान्छा शाहीले तालिमको सन्दर्भमा सहजिकरण गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षता तथा सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यको सञ्चालनमा भएको कार्यक्रममा तालिमको प्रकृति, अवधि र पालना गर्नुपर्ने नियमहरुका सन्दर्भमा विद्यार्थीहरु र उनीहरुका अभिभावकहरुलाइ जानकारी गराइएको थियो । कार्यक्रममा विद्यालयका कक्षा ११–१२ संयोजक राजेन्द्र के.सी.ले स्वागत गर्नुभएको थियो ।
साउन २६ गतेदेखि ७९ दिनसम्मा विद्यालयमा तालिम सञ्चालन गरिने भएको छ भने तत्पश्चात २१ दिन नेपाली सेनाको ब्यारेकमा तालिममा सहभागी गराइनेछ । १ सय १५ जना विद्यार्थीहरु प्रारम्भिक छनौट चरणमा सहभागी भएकोमा ५५ जना अघिल्लो चरणका लागि छनौटमा परेका छन् । ती मध्ये ३६ जना अन्तिम चरणका लागि छनौट भएर तालिममा सहभागी हुनेछन् ।
तालिम अवधिभर जमदार प्रेम बञ्जाराले प्रमुख प्रशिक्षण दिनुहुनेछ भने इश्वर उपाध्याय र सन्तोष रेग्मीले विद्यालयमा रहेर सहजिकरण गर्नुहुनेछ । त्यस्तै विद्यालयमा एनसिसि समन्वय शिक्षकको रुपमा रञ्जित भण्डारी रहनुभएको छ ।
शान्ति नमुनामा यसअघि जुनियर डिभिजन समूह क्रियाशिल रहेकोमा उक्त समूहले दुईपटक वेष्ट प्लाटुनको उपाधि प्राप्त गरेको थियो । सिनियर डिभिजनको भने यो पहिलो समूह हो ।

ततततततत

शान्ति नमुनाले मनायो ६५ औं वार्षिकोत्सव

रुपन्देही, फागुन २ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिक्षाले नै समाजको परिवर्तनमा अमूल्य योगदान पु¥याउने भन्दै त्यसका लागि शान्ति नमुनाले आगामी दिनमा शैक्षिक गुणस्तरलाई कायम राख्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे, तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुप कुमार रायमाझी ,अक्षयकोषदाता प्रेम बहादुर भण्डारी लगायतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पु¥याउने प्रतिबद्धता जनाउदै शुभकामना दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी संख्याका आधारमा जनशक्ति तथा पूर्वाधारको अभाव भएको भन्दै शैक्षिक गुणस्तरका लागि तीनै तहका सरकारलाई सहयोगको दायरा बढाउन आग्रह गर्नुभयो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकासका लागि योगदान पु¥याउने ४९ जना शिक्षक कर्मचारी, १ जना निवृत शिक्षक, २ जना समाजसेवी, २६ जना उत्कृष्ट अभिभावक र ८ जना अक्षयकोषदातालाई सम्मान गरिएको थियो । यस्तै विद्यालयमा क्रियाशिल क्लवहरु मध्ये बाल क्लव र आइसिटि क्लवलाई सम्मान गरिएको थियो ।
यसैगरी विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी यस वर्ष उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ४८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने एस.इ.इ.मा ए प्लस ल्याउने १९ जना र कक्षा १२ उत्तीर्ण ३ सय ४८ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । यसैगरी डिएचएममा विशिष्ट श्रेणीमा उत्तीर्ण २ जना र वर्ष उत्कृष्ट विद्यार्थीको रुपमा ३ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
यस्तै विभिन्न दाताहरुले स्थापना गरेका ५७ वटा अक्षयकोषबाट २ सय २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो भने एनसिसिका ७६ जनालाई समेत पुरस्कृत गरिएको थियो । यसैगरी १२ कोठे भवनको उद्घाटन तथा ३६ कोठे भवनको शिलान्यास समेत गरिएको थियो ।
यस्तै, शान्ति नमुनाले आयोजना गरेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने एभरेष्ट माध्यमिक विद्यालयलाई नगद रु.१२ हजार, द्वितीय स्थान प्राप्त गर्न सफल ग्रिन प्लान्ट बोर्डिङ स्कुललाई नगद रु.९ हजार, तृतीय हुने सुनगाभा बोर्डिङ स्कुललाई नगद रु ७ हजार र प्रोत्साहन स्थान प्राप्त न्यू होराइजन बोर्डिङ स्कुललाई नगद रु. ४ हजार ५ सय, प्रमाणपत्र र मेडल सहित पुरष्कृत गरिएको प्रतियोगिताका संयोजक मोहन पौडयालले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक दिपेन्द्र कुमार शाक्य र दश जोड दुईका संयोजक राजेन्द्र के.सी.ले गर्नुभएको थियो ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले पि.टि. प्रदर्शन, परम्परागत नृत्य, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए ।
विद्यालयमा हाल करिव ६ हजार विद्यार्थीहरु अध्ययनरत छन् भने २ सय १४ जना शिक्षक कर्मचारी कार्यरत छन् ।
यसैबीच, शिक्षा क्षेत्रमा योगदान पु¥याउने पत्रकार यमलाल भुसाललाई पुरस्कृत गरिएको छ । स्व. फत्त बहादुर÷ देउमती काउँचा स्मृति पत्रकारिता पुरस्कारबाट भुसाललाई नगद, दोसल्ला तथा करुवा सहित पुरष्कृत गरिएको हो । राज्य टेलिभिजनका समाचार प्रमुख रहनुभएका भुसाललाई शान्ति नमुना मा. वि. सहित सामुदायिक विद्यालयहरुको गतिविधिहरुलाई पत्रिकारिताको माध्यमबाट जनमानसमा पु¥याउन गरेको योगदान स्वरुप सम्मान गरिएको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

शान्ति नमुनामा रक्तदान तथा पढाइ महोत्सव

 

तिलोत्तमा, माघ २९ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ ।
विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विष्णुप्रसाद अर्यालले जानकारी दिनुभयो । युवा रेडक्रस सर्कल शान्ति नमुना माविको आयोजनामा भएको सो कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाका सभापति तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले रक्तदानले मानव जीवन बचाउने भन्दै विद्यार्थी जीवनबाटै मानवीय र सामाजिक काममा लाग्नु पर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयले विद्यार्थीहरुमा मानवीय भावनाको विकास गराउदै उनीहरुमा सदभावनाको विकास गराउन यस प्रकारका कार्यक्रम गरेको बताउनुभयो ।
यसैबीच, विद्यार्थीहरुको पढाईप्रति अभिरुचि जगाउने उद्धेश्यका साथ पढाई महोत्सव गरिएको छ । पढाइ महोत्सवमा कक्षा १, २ , ३ का विद्यार्थीहरु सहभागी भएर पढाइका विभिन्न क्रियाकलापमा सहभागी भएको कार्यक्रमका संयोजक बसन्ती भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी खेल सप्ताहमा सञ्चालित विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने तथा शैक्षिक रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा विद्यालयका सल्लाहकारहरु रोमणी प्रसाद पाठक, टेक बहादुर थापा, विद्यालय व्यवस्थापन समिति सदस्यहरु बुद्धि प्रसाद डुम्रे, चन्द्रकान्त खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष जमुना तिवारी, सदस्य सुनिता पाण्डे, सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेय लगायत सहभागी हुनुभएको थियो ।
वार्षिकोत्सवको मुल कार्यक्रम फागुन २ गते हुनेछ । वार्षिकोत्सवका अवसरमा छात्रवृत्ति, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, ‘नानी’ मुखपत्रको विमोचन, पत्रकार सम्मान, सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेलले जानकारी दिनुभयो ।

 

शान्तिको हाजिरी जवाफको उपाधि एभरेष्ट मा.वि.लाई

तिलोत्तमा, माघ २८ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले आइतबार जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ ।
रुपन्देही जिल्लाका २८ वटा विद्यालय सहभागी भएकोमा एभरेष्ट माध्यमिक विद्यालय प्रथम भएको छ । एभरेष्टले नगद रु.१२ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै द्वितीय भई ग्रिन प्लान्ट बोर्डिङ स्कुलले नगद रु.९ हजार, तृतीय भई सुनगाभा बोर्डिङ स्कुलले नगद रु ७ हजार र प्रोत्साहन स्थान प्राप्त न्यू होराइजन बोर्डिङ स्कुलले नगद रु. ४ हजार ५ सय, प्रमाणपत्र र मेडल प्राप्त गरेको प्रतियोगिताका संयोजक मोहन पौडेलले जानकारी दिनुभयो ।
यसअघि उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले विद्यार्थीको सृजनशिलता बढाउन यस प्रकारका कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले जिल्लाभरका विद्यालयहरुबीच सद्भाव, सहकार्य र आत्मीयता अभिवृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गरिएको भन्दै आगामी दिनमा अझ रचनात्मक कार्यक्रम गरिने जनाउनुभयो । कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्का र रजनी के.सी.ले गर्नुभएको थियो ।
त्यस्तै आइतबार खाना महोत्सव समेत आयोजना गरिएको थियो । कक्षा आठ , नौ , एघार , बाह्र र डिप्लोमा इन होटल म्यानेजमेन्टका विद्यार्थीहरूको सहभागितामा खाना महोत्सवको आयोजना गरिएको हो । विद्यार्थीहरूले आवश्यक सामग्रीहरूको व्यवस्थापन आफै गरेर खानाका विभिन्न परिकार बनाएको कार्यक्रम संयोजक पिंकी शर्माले जानकारी दिनुभयो । विद्यार्थीहरूले पास्ता , मम , फुल्की , चटपट , सेलरोटी , चुकौनी, अचार , ढिकरी , मन्चुरियन , पकौडा लगायतका परिकार बनाएका थिए । खाना महोत्सवमा २३ वटा स्टल राखेर परिकारको व्यवस्थापन गरिएको थियो ।
यसैबीच ६५ औं वार्षिकोत्सवका अवसरमा सोमबार विद्यालयमा रक्तदान, पढाई महोत्सव, पुरस्कार वितरण कार्यक्रम गरिने भएको छ ।
वार्षिकोत्सवको मुल कार्यक्रम भने फागुन २ गते हुनेछ । वार्षिकोत्सवका अवसरमा छात्रवृत्ति , पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, नानी मुखपत्रको विमोचन, हालै बनेको भवनको उद्घाटन, ३६ कोठे भवनको शिलान्यास तथा सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सूचना संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

© Sabal Post. 2024 All rights reserved. | Technology Partner: LgmNepal