शान्तिद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा हौसला अभिवृद्धि कार्यक्रम

मणिग्राम, १ जेठ । रूपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि बधाई तथा हौसला अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।
मणिग्रामस्थित विश्राम बाटीकामा आयोजित एक औपचारिक कार्यक्रमका बीच विद्यार्थीहरूलाई बधाई ज्ञापन गरिएको हो। विद्यार्थीहरूबीच आत्मीयता बढाउने र उनीहरूको आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोे थियो।
तिलोत्तमा वडा नं ५ का अध्यक्ष रमेश डुम्रेले उत्तीर्ण विद्यार्थीहरू भोलिका देशका कर्णधार भएको उल्लेख गर्दै लगनशीलताका साथ अघि बढ्न प्रेरणा दिनुभयो। उहाँले स्थानीय तह सधैँ शिक्षाको गुणस्तर सुधार र विद्यार्थीको हितमा प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईले विद्यार्थीहरूको सफलताले विद्यालयको गरिमा झन् बढाएको बताउनुभयो।
कार्यक्रममा शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। उहाँले शान्ति नमुनाले सधैँ संस्कारयुक्त र गुणस्तरीय शिक्षामा जोड दिँदै आएको र आगामी दिनमा पनि विद्यार्थीहरूले विद्यालयको नाम उच्च राख्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै प्लस टु संयोजक राजेन्द्र के.सी. ले विद्यालय तह पार गरेर उच्च शिक्षामा प्रवेश गर्न लागेका विद्यार्थीहरूलाई सही मार्गनिर्देशनको आवश्यकता पर्ने कुरामा जोड दिदै आगामी शैक्षिक यात्रा तय गर्दा ध्यान दिनुपर्ने विषयमा प्रष्ट पार्नुभयो ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको बधाई सत्रमा उत्तीर्ण विद्यार्थीहरूलाई खादा ओढाएर सफलताको शुभकामनासहित बधाई दिइएको थियो। सो अवसरमा कक्षा १० का उत्तीर्ण विद्यार्थीहरूको तर्फबाट चार जिपिए प्राप्त गर्न सफल प्रकृति काफ्लेले विद्यालयमा बिताएका पलहरू र आफ्नो अनुभव सुनाउनुभएको थियो ।
कार्यक्रममा शिक्षक रजनी के.सी. ले स्वागत मन्तव्य राख्नु भएको थियो कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्काले गर्नुभएको थियो।
सोही अवसरमा शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो भने विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु राखेका थिए ।

 

शान्ति नमुनामा विभिन्न रचनात्मक कार्यक्रम

तिलोत्तमा, मंसिर ५ ।
रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार विविध रचनात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् ।
कक्षा १ देखि ३ सम्म ६७ औं वार्षिकोत्सव केन्द्रित शैक्षिक गतिविधिहरु, कक्षा ४ र ५ मा सांस्कृतिक पहिरन प्रदर्शन कार्यक्रम गरिएको छ ।
यस्तै कक्षा ६ का विद्यार्थीहरुबिच खाना पकाउने प्रतियोगितामा सम्पन्न भएको छ । कक्षा ७ का विद्यार्थीहरुको लागि भने शिक्षक कल्पना कुवँरले योग अभ्यास गराउनुभएको थियो ।
यस्तै कक्षा ८ र ९ का विद्यार्थीहरुको लागि फुटबल प्रतियोगिता गरिएको अतिरिक्त क्रियाकलाप संयोजक सुशील पाण्डेले बताउनुभयो ।
यसैगरी आइ सि टि क्लवको संयोजन तथा हिमाल पाण्डे र रजनी केसीको नेतृत्वमा तिलोत्तमा–९ मा समुदाय केन्द्रित कार्यक्रम गरिएको छ । सो अवसरमा साइवर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको थियो ।
यस्तै शान्ति बाल क्लवको संयोजनमा सीता गौतमको नेतृत्वमा लागुपदार्थ दुरुपयोग सम्बन्धि जनचेतनामुलक र्याली गरिएको छ ।

शान्तिमा जारी फुटबलमा सेमिफाइनल समिकरण पूरा

तिलोत्तमा, असोज ५ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगितामा आइतबार क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आइतबार भएका खेलहरुबाट सेमिफाइनल समिकरण पूरा भएको हो ।
आज भएको खेलबाट शान्ति नमुना मा.वि., केरवानी मा.वि., देवदह इङ्गलिस बोर्डिङ् र अक्सफोर्ड मा.वि. सेमिफाइनलमा प्रवेश गरेको विद्यालयका सुचना संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
शान्तिले नेपथ्य कलेजलाई, केरवानीले लुम्बिनी सिटि कलेजलाई, देवदहले अक्सफोर्ड कलेजलाई र अक्सफोर्ड मा.वि.ले स्कलर्श होमलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् । आजका सबै खेल २–० को गोल अन्तरमा टुगिंएका थिए ।
सोमबार साँझ ४ बजे हुने पहिलो सेमिफाइनल खेलमा केरवानी मा.वि.ले अक्सफोर्ड मा.वि. को सामना गर्नेछ भने साँझ ५ बजे हुने दोस्रो सेमिफाइनल खेलमा शान्ति नमुना मा.वि. र देवदह इङ्गलिस बोर्डिङ् आमने सामने हुने छन् ।
प्रतियोगितामा १७ समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।

 

शान्ति नमुनामा सेभेन ए साइड फुटवल शुरु

तिलोत्तमा,असोज २ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जिल्ला स्तरीय फुटवल प्रतियोगिता बिहिबारबाट शुरु भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १७ समूहको सहभागिता रहेको छ ।
बिहिबार भएको खेलमा शान्ति नमुना मा.वि, सञ्जिवनी बोर्डिङ र स्कलर्श होम बोर्डिङ अघिल्लो चरणमा प्रवेश गरेका छन् । शान्ति नमुनाले रुपन्देही लीलाराम मा.वि.लाई ५–० को गोल अन्तरमा हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो । शान्तिको जीतका लागि आकाश डुम्रेले ३, गोविन्द थापा र शिखर चौधरीले १–१ गोलको योगदान गरेका थिए ।
सञ्जिवनीले लुम्बिनी वल्र्डलाई र स्कलर्श होमले न्यू इन्भाइरमेन्टलाई ट्राइव्रेकरमा हराँउदै अघिल्लो चरणको यात्रा तय गरेका हुन् ।
यसअघि शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एन्फा रुपन्देहीका अध्यक्ष लोक पुन, विद्यालयका अध्यक्ष शरद भट्टराई, सदस्य बुुद्धिप्रसाद डुम्रे, प्रधानाध्यापक कुलप्रसाद लामिछाने, सहायक प्रधानाध्यापकहरु लोकनाथ कंडेल, दिपेन्द्र शाक्य लगायतले शुभकामना दिनुभएको थियो ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।

शान्ति नमुनामा रक्तदान, विज्ञान प्रदर्शनी र पढाई महोत्सव सम्पन्न

तिलोत्तमा, माघ १८ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा ३४ जनाले रक्तदान गरेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाका प्रमुख तथा विद्यालयका सल्लाहकार टेक बहादुर थापाले रक्तदानले कसैको ज्यान बचाउने मात्र नभई व्यक्तिलाई स्वस्थ रहन समेत मद्धत गर्ने बताउनुभयो ।
त्यस्तै शुक्रबार नै विज्ञान प्रदर्शनी कार्यक्रम गरिएको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागितामा भएको प्रदर्शनीमा १२ वटा स्टल रहेको कार्यक्रम संयोजक लिलाबल्लभ पााण्डेयले जानकारी दिनुभयो । यसैगरी कक्षा १–३ का विद्यार्थीहरु र उनीहरुको अभिभावकहरुको सहभागितामा पढाई महोत्सव भएको संयोजक बसन्ती भण्डारीले जानकारी दिनुभयो ।
यस्तै कक्षा ११–१२ तर्फ भएको वादविवाद प्रतियोगितामा करिष्मा यादव प्रथम, ताराप्रसाद बेल्वासे, द्वितीय र सम्भव बस्याल तृतीय भएका छन् । शिक्षक राजेन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सुबोध खनाल, खेमेन्द्र थापा र गणेश प्रसाद ज्ञवालीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन भीम भुसालले गर्नुभएको थियो ।
यस्तै कविता लेखन प्रतियोगितामा विशाल गौतम प्रथम, प्रतिमा खनाल द्वितीय र रोजिना गैरै तृतीय भएका थिए ।
यसैबिच,आइसिटि प्रस्तुतीकरण प्रतियोगितामा कक्षा ६ मा कुञ्जन पौडेल प्रथम भएका छन् भने कक्षा ७ मा निश्चल चापागाईं प्रथम भएको संयोजक दिनेश तिवारीले जानकारी दिनुभयो । शुक्रबार नै ५ किलो मिटरको म्यारथन प्रतियोगिता गरिएको छ भने खेल सप्ताहमा सञ्चालन गरिएका विभिन्न खेलहरुमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा माघ २० गते प्रभातफेरि, छात्रवृत्ति वितरण लगायतका कार्यक्रम हुनेछन् भने मुल समारोह भने माघ २१ गते हुनेछ । वार्षिकोत्सवका अवसरमा पुरस्कार वितरण एवम् शिक्षक कर्मचारी तथा विद्यार्थी सम्मानका कार्यक्रम, नानी मुखपत्रको विमोचन तथा सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सूचना संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

 

तिलोत्तमा नगर स्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिताको उपाधि शान्तिलाई

तिलोत्तमा, पुस २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको नगरस्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिताको उपाधि शान्ति नमुना माध्यमिक विद्यालयले जितेको छ ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुबीच आयोजित प्रतियोगितामा जनज्योती मा.वि. लाई ३–१ को सेटमा हराउँदै शान्तिले उपाधि चुमेको हो । विजेता बनेको शान्तिले नगद १९ हजार ९ सय ९९ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जनज्योती मा.वि.ले १५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ ।
यस्तै तृतीय भएको जनहित मा.वि.ले ११ हजार १ सय ११ रुपैया र चौथो भएको गीर्वाण संस्कृत तथा साधरण मा.वि.ले ७ हजार ७ सय ७७ रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक सतितिका संयोजक तथा शान्ति नमुना मा.वि.का प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो ।
शान्ति नमुना माध्यमिक विद्यालयका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, तिलोत्तमा खेलकुद समितिका अध्यक्ष लोक पुन, विद्यालयका सल्लाहकार टेक बहादुर थापा, समाजसेवी हरी प्रसाद काफ्ले, विद्यालयका सदस्यद्वय बुद्धिप्रसाद डुम्रे र चन्द्रकान्त खनाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
शान्ति नमुना माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालित सातौं संस्करणको प्रतियोगितामा १६ वटा समुहको सहभागिता रहेको थियो ।

शान्तिमा जारी फुटबलमा सेमिफाइनल समिकरण पूरा

तिलोत्तमा, असोज १८ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगितामा शुक्रबार क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा शुक्रबार भएका खेलहरुबाट सेमि फाइनल समिकरण पूरा भएको हो । आज भएको खेलबाट होराइजन जिविएस, शान्ति नमुनाको समूह बि, अक्सफोर्ड मा.वि. र न्यू होराइजन मा.वि. सेमिफाइनलमा प्रवेश गरेको शान्ति स्पोर्टस कलवका सचिव दिनेश खड्काले जानकारी दिनुभयो ।
आजको खेलमा शान्ति नमुना टिम ए का शिखर चौधरी, सिद्धार्थ इङ्लिश बोर्डिङ स्कुलका यम बहादुर राना, विश्व एकता एकेडेमीका आकाश सारु र र क्यानन मा.वि.का केशव न्यौपाने म्यान अफ दि म्याच भई पुरस्कृत भएका छन् ।
शनिबार बिहान ७ बजे हुने पहिलो सेमिफाइनल खेलमा होराइजन जिविसले शान्ति नमुना समूह बि को सामना गर्नेछ भने ८ बजे हुने दोस्रो सेमिफाइनल खेलमा अक्सफोर्ड मा.वि.र न्यू होराइजन मा.वि.आमने सामने हुने छन् ।
प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।

 

शान्तिको फुटबलमा सञ्जीवनी, न्यू इन्भाइरमन्ट र क्यानन विजयी

तिलोत्तमा, असोज १५ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा मंगलबारदेखि जिल्ला स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा मंगलबारको खेलमा सञ्जीवनी शिक्षा सदन, न्यू इन्भाइरमन्ट बोर्डिङ र क्यानन मा.वि. विजयी भएका छन् ।
पहिलो खेलमा सञ्जीवनीले जनज्योती मा.वि.लाइ ३–० गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
त्यस्तै दोस्रो खेलमा न्यू इन्भाइरमन्टले स्कलर्श होमलाई पेनाल्टी सुट आउटमा हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि पेनाल्टीबाट विजेताको टुङ्गो लगाइएको थियो ।
यस्तै तेस्रो खेलमा क्यानन मा.वि.ले दुर्गादत्त मा.वि.लाई ५–० गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
पहिलो खेलमा जनज्योती मा.वि.का विष्णु न्यौपाने, दोस्रो खेलमा स्कलर्श होमका धिरेन राकस र तेस्रो खेलमा दुर्गादत्त मा.वि.का माधव घिमिरे म्यान अफ द म्याच भएर पुरस्कृत भएका छन् ।

यसअघि विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।
प्रतियोगिता अन्तरगत बुधबारको खेल पशुपति मा.वि. र गार्गी मा.वि.बिच, ग्रिन प्लान्ट बोर्डिङ र होराइजन जि.वि.एस.बिच तथा देवदह बोर्डिङ र अक्सफोर्ड मा.वि. बिच हुने शान्ति स्पोर्टस क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले जानकारी दिनुभयो ।
प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।

शान्ति नमुनामा सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

तिलोत्तमा,असोज ९ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच प्रतियोगिता हुन लागेको हो ।
यहि असोज ११ गतेदेखि हुने सेभेन ए साइड फुटवल प्रतियोगितामा करीव २५ समूहको सहभागिता रहने छ । रुपन्देहीका विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुबीच सद्भाव र मैत्रीभाव बढाउने उद्धेश्यले प्रतियोगिता राखिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो ।
गत वर्ष जस्तै यस वर्ष पनि जिल्ला स्तरीय प्रतियोगिताको माध्यमबाट खेल भावना र सहकार्य गर्ने मान्यताको विकास होस् भनेर प्रतियोगिता आयोजना गरिएको शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।
शान्ति नमुनाको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।

 

 

शान्ति नमुनामा रक्तदान तथा पढाइ महोत्सव

 

तिलोत्तमा, माघ २९ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ ।
विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विष्णुप्रसाद अर्यालले जानकारी दिनुभयो । युवा रेडक्रस सर्कल शान्ति नमुना माविको आयोजनामा भएको सो कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाका सभापति तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले रक्तदानले मानव जीवन बचाउने भन्दै विद्यार्थी जीवनबाटै मानवीय र सामाजिक काममा लाग्नु पर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयले विद्यार्थीहरुमा मानवीय भावनाको विकास गराउदै उनीहरुमा सदभावनाको विकास गराउन यस प्रकारका कार्यक्रम गरेको बताउनुभयो ।
यसैबीच, विद्यार्थीहरुको पढाईप्रति अभिरुचि जगाउने उद्धेश्यका साथ पढाई महोत्सव गरिएको छ । पढाइ महोत्सवमा कक्षा १, २ , ३ का विद्यार्थीहरु सहभागी भएर पढाइका विभिन्न क्रियाकलापमा सहभागी भएको कार्यक्रमका संयोजक बसन्ती भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी खेल सप्ताहमा सञ्चालित विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने तथा शैक्षिक रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा विद्यालयका सल्लाहकारहरु रोमणी प्रसाद पाठक, टेक बहादुर थापा, विद्यालय व्यवस्थापन समिति सदस्यहरु बुद्धि प्रसाद डुम्रे, चन्द्रकान्त खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष जमुना तिवारी, सदस्य सुनिता पाण्डे, सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेय लगायत सहभागी हुनुभएको थियो ।
वार्षिकोत्सवको मुल कार्यक्रम फागुन २ गते हुनेछ । वार्षिकोत्सवका अवसरमा छात्रवृत्ति, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, ‘नानी’ मुखपत्रको विमोचन, पत्रकार सम्मान, सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेलले जानकारी दिनुभयो ।

 

© Sabal Post. 2026 All rights reserved. | Technology Partner: LgmNepal