शान्तिद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा हौसला अभिवृद्धि कार्यक्रम

मणिग्राम, १ जेठ । रूपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि बधाई तथा हौसला अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।
मणिग्रामस्थित विश्राम बाटीकामा आयोजित एक औपचारिक कार्यक्रमका बीच विद्यार्थीहरूलाई बधाई ज्ञापन गरिएको हो। विद्यार्थीहरूबीच आत्मीयता बढाउने र उनीहरूको आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोे थियो।
तिलोत्तमा वडा नं ५ का अध्यक्ष रमेश डुम्रेले उत्तीर्ण विद्यार्थीहरू भोलिका देशका कर्णधार भएको उल्लेख गर्दै लगनशीलताका साथ अघि बढ्न प्रेरणा दिनुभयो। उहाँले स्थानीय तह सधैँ शिक्षाको गुणस्तर सुधार र विद्यार्थीको हितमा प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईले विद्यार्थीहरूको सफलताले विद्यालयको गरिमा झन् बढाएको बताउनुभयो।
कार्यक्रममा शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। उहाँले शान्ति नमुनाले सधैँ संस्कारयुक्त र गुणस्तरीय शिक्षामा जोड दिँदै आएको र आगामी दिनमा पनि विद्यार्थीहरूले विद्यालयको नाम उच्च राख्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै प्लस टु संयोजक राजेन्द्र के.सी. ले विद्यालय तह पार गरेर उच्च शिक्षामा प्रवेश गर्न लागेका विद्यार्थीहरूलाई सही मार्गनिर्देशनको आवश्यकता पर्ने कुरामा जोड दिदै आगामी शैक्षिक यात्रा तय गर्दा ध्यान दिनुपर्ने विषयमा प्रष्ट पार्नुभयो ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको बधाई सत्रमा उत्तीर्ण विद्यार्थीहरूलाई खादा ओढाएर सफलताको शुभकामनासहित बधाई दिइएको थियो। सो अवसरमा कक्षा १० का उत्तीर्ण विद्यार्थीहरूको तर्फबाट चार जिपिए प्राप्त गर्न सफल प्रकृति काफ्लेले विद्यालयमा बिताएका पलहरू र आफ्नो अनुभव सुनाउनुभएको थियो ।
कार्यक्रममा शिक्षक रजनी के.सी. ले स्वागत मन्तव्य राख्नु भएको थियो कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्काले गर्नुभएको थियो।
सोही अवसरमा शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो भने विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु राखेका थिए ।

 

शान्ति नमुनामा मेदिनी सेक्टरको उद्घाटन र कक्षा आरम्भ

वैशाख १५, तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा-५, मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको मेदिनी सेक्टरको औपचारिक उद्घाटन तथा नयाँ शैक्षिक सत्रको कक्षा आरम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाविद् र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले मेदिनी सेक्टरको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै नगर प्रमुख खाँणले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा यस्ता पहलहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

यस्तै, कार्यक्रममा तिलोत्तमा वडा नं. ५ का अध्यक्ष रमेश डुम्रे, शिक्षा अधिकृत धनिराम पन्थी र विद्यालयका सल्लाहकारहरू टेक बहादुर थापा तथा अर्जुनराज उपाध्याय लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले स्वागत गर्दै विद्यालयलाई उत्कृष्ट र नमुना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। मेदिनी सेक्टर संयोजक सीता पुर्जाले सबै अभिभावक र विद्यार्थीको मन जितेर विद्यालयलाई उदाहरणीय बनाउने विश्वास दिलाउनुभयो।

विद्यार्थीहरूलाई प्रोत्साहन गर्न विद्यालय व्यवस्थापन समितिका सदस्यहरू बुद्धिबहादुर डुम्रे, कौशिला रायमाझी, सहायक प्रधानाध्यापक लोकनाथ कँडेल, दिपेन्द्र शाक्य, शिक्षक अभिभावक संघका कार्यवहाक अध्यक्ष अञ्जन धिताल, सदस्यहरू सुनिता पाण्डे भुसाल र तुलसी खनाल लगायतको उपस्थिति थियो।

शिक्षक दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा खुसी व्यक्त गर्दै मेदिनी आधारभूत विद्यालयका पूर्व अध्यक्ष जगत पौडेल र चरित्र ज्योति नारी जागरण आमा समूहका प्रतिनिधिहरूले पनि ऐक्यबद्धता जनाउनुभएको थियो।

मेदिनी सेक्टरको सञ्चालन र कक्षा आरम्भसँगै विद्यार्थी तथा अभिभावकहरूमा नयाँ उत्साह देखिएको छ।

शान्ति नमुनामा विभिन्न रचनात्मक कार्यक्रम

तिलोत्तमा, मंसिर ५ ।
रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार विविध रचनात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् ।
कक्षा १ देखि ३ सम्म ६७ औं वार्षिकोत्सव केन्द्रित शैक्षिक गतिविधिहरु, कक्षा ४ र ५ मा सांस्कृतिक पहिरन प्रदर्शन कार्यक्रम गरिएको छ ।
यस्तै कक्षा ६ का विद्यार्थीहरुबिच खाना पकाउने प्रतियोगितामा सम्पन्न भएको छ । कक्षा ७ का विद्यार्थीहरुको लागि भने शिक्षक कल्पना कुवँरले योग अभ्यास गराउनुभएको थियो ।
यस्तै कक्षा ८ र ९ का विद्यार्थीहरुको लागि फुटबल प्रतियोगिता गरिएको अतिरिक्त क्रियाकलाप संयोजक सुशील पाण्डेले बताउनुभयो ।
यसैगरी आइ सि टि क्लवको संयोजन तथा हिमाल पाण्डे र रजनी केसीको नेतृत्वमा तिलोत्तमा–९ मा समुदाय केन्द्रित कार्यक्रम गरिएको छ । सो अवसरमा साइवर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको थियो ।
यस्तै शान्ति बाल क्लवको संयोजनमा सीता गौतमको नेतृत्वमा लागुपदार्थ दुरुपयोग सम्बन्धि जनचेतनामुलक र्याली गरिएको छ ।

शान्ति नमुनामा मस्तिष्क पक्षघात तथा स्नायू विकृती भएकाहरुको स्वास्थ्य शिविर

तिलोत्तमा, मंसिर ४ ।
रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा मस्तिष्क पक्षघात तथा स्नायू विकृती भएका बालबालिकाहरुका लागि बिहिबारबाट स्वास्थ्य शिविर सुरु भएको छ । मस्तिष्क पक्षघात स्वावलम्वन समूह नेपालको आयोजना तथा शान्ति नमुना मा.वि.को सह आयोजनामा शिविर सञ्चालन गरिएको हो । प्रभावित बालबालिकाहरुको शिविरमा परिक्षण गरी थप उपचार आवश्यक हुनेहरुलाई अन्यत्र सिफारिस गरिनेछ ।
शिविरमा डा.प्रज्ञा राजभण्डारी, आभार ढुङ्गाना, फिजियोथेरापिष्ट सरला श्रेष्ठ, समूहका डिष्ट्रिक कोओर्डिनेटर बासुदेव चौधरी, शैलेश थापा लगायतले बालबालिकाको परिक्षण तथा सहजिकरण गर्नुहुनेछ । शिविरमा करीव ३० जना बालबालिकाकाहरुको स्वास्थ्य परिक्षण गर्ने लक्ष्य लिइएको छ ।
प्रति १००० बालबालिका मध्ये ५ जना बालबालिकामा यस प्रकारको समस्या देखिने विज्ञहरुले बताएका छन् । यस सम्बन्धी अपूर्ण जानकारी तथा गलत मान्यताका कारण समस्या झनै जटिल हुने भन्दै उनीहरुले समस्याको वास्तविक पहिचान र न्यूनिकरणका लागि शिविर फलदायी हुने उनीहरुको विस्वास रहेको छ ।
सोही अवसरमा दीवा स्याहार केन्द्रको समेत उद्घाटन गरिएको छ । यसबाट मस्तिष्क पक्षघात तथा स्नायू विकृती भएका बालबालिका र उनीहरुका अभिभावकहरु लाभान्वित हुने अपेक्षा राखिएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयो ।

 शान्ति नमूनामा हुने १०औं एस.क्यु.सी. सम्मेलनको तयारी पूरा

कार्तिक २७,  रूपन्देही ।

क्वेस्ट नेपालसिद्धार्थ हबको आयोजना तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा यही कार्तिक ३० गते  हुने १०औं एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) सम्मेलनको तयारी पूरा भएको छ।  सम्मेलनका लागि विभिन्न उपसमिति गठन गरेर कार्य सम्पादन गरिएको छ ।  विद्यार्थीहरूको सर्वाङ्गीण विकासको उद्देश्यले तिलोत्तमा–५, मणिग्राम स्थित शान्ति नमूना माध्यमिक विद्यालयमा उक्त सम्मेलन हुन लागेको हो।

विद्यालय तथा विद्यार्थीहरूमा प्रतिस्पर्धा भन्दा पनि समन्वय र सहकार्यको वातावरण सिर्जना गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्वेस्ट नेपालले जनाएको छ। शिक्षा क्षेत्रमा फरक तरिकाबाट कार्य गर्दै आएको गैर–नाफामूलक संस्था क्वेस्ट नेपालका देशभर २६ वटा हबहरू रहेका छन्, जस मध्ये आयोजक सिद्धार्थ हब एक हो।

संस्थागत विद्यालयहरूमा लामो समयदेखि विद्यार्थीमैत्री कार्यक्रमका रूपमा परिचित एस.क्यु.सी.लाई सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने उद्देश्यले प्राथमिकता दिइएको शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको बताउनुभयो ।  

सामुदायिक विद्यालयहरूको शैक्षिक महाकुम्भका रूपमा रहने यस कार्यक्रममा तिलोत्तमा नगरपालिका र अन्य केही नगरपालिकाबाट करिब ५०० प्रतियोगी विद्यार्थी तथा करिब २०० अवलोकनकर्ता विद्यार्थीहरूको सहभागिता रहनेछ। अवलोकन गर्ने विद्यार्थीहरूका माध्यमबाट अन्य विद्यालयहरूमा पनि आगामी वर्ष अझ प्रभावकारी रूपमा कार्यक्रम विस्तार गर्न सकिने विश्वास नगरपालिकाले लिएको छ।

हबका कोअर्डिनेटर तथा मास्टर ट्रेनर प्रकाश चापागाईंका अनुसार कार्यक्रम बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। उक्त अवधिमा १२ वटा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। यस वर्षको आकर्षणका रूपमा थिममा आधारित प्यानल छलफल र विद्यार्थीहरूले आफैंले समस्या समाधान गरेको प्रमाणका रूपमा तयार पारेका करिब ५० वटा एस.क्यु.सी. केस स्टडी प्रस्तुत गरिनेछ।

त्यस्तै, सहकार्यमा आधारित ५ वटा प्रतिस्पर्धात्मक र ५ वटा गैर–प्रतिस्पर्धात्मक कार्यक्रमहरू रहनेछन्। प्रत्येक समूहमा ४ देखि १० जना सदस्य रहनेछन्, जसले आफूलाई अनुकूल लाग्ने कार्यक्रम छनोट गरी सहभागिता जनाउनेछन्।

यस कार्यक्रमले विद्यार्थीहरूमा आफ्नो समस्या आफैं समाधान गर्नेसमूहमा मिलेर काम गर्नेसमन्वय गर्नेअनुसन्धान गर्ने तथा २१औं शताब्दीका आवश्यक सामाजिक सीप र व्यक्तित्व विकास गर्ने क्षमताको वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा सहभागिताको लागि प्रति विद्यार्थी रु. ८००  विद्यालय दर्ता शुल्क रु. ३,००० रहनेछ। नगरपालिकाको आर्थिक सहयोगका अतिरिक्त अन्य व्यवस्थापन सम्बन्धी खर्च शान्ति नमूना माध्यमिक विद्यालयले बेहोर्नेछ।

शान्तिमा जारी फुटबलमा सेमिफाइनल समिकरण पूरा

तिलोत्तमा, असोज ५ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगितामा आइतबार क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आइतबार भएका खेलहरुबाट सेमिफाइनल समिकरण पूरा भएको हो ।
आज भएको खेलबाट शान्ति नमुना मा.वि., केरवानी मा.वि., देवदह इङ्गलिस बोर्डिङ् र अक्सफोर्ड मा.वि. सेमिफाइनलमा प्रवेश गरेको विद्यालयका सुचना संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
शान्तिले नेपथ्य कलेजलाई, केरवानीले लुम्बिनी सिटि कलेजलाई, देवदहले अक्सफोर्ड कलेजलाई र अक्सफोर्ड मा.वि.ले स्कलर्श होमलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् । आजका सबै खेल २–० को गोल अन्तरमा टुगिंएका थिए ।
सोमबार साँझ ४ बजे हुने पहिलो सेमिफाइनल खेलमा केरवानी मा.वि.ले अक्सफोर्ड मा.वि. को सामना गर्नेछ भने साँझ ५ बजे हुने दोस्रो सेमिफाइनल खेलमा शान्ति नमुना मा.वि. र देवदह इङ्गलिस बोर्डिङ् आमने सामने हुने छन् ।
प्रतियोगितामा १७ समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।

 

शान्ति नमुनामा सेभेन ए साइड फुटवल शुरु

तिलोत्तमा,असोज २ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जिल्ला स्तरीय फुटवल प्रतियोगिता बिहिबारबाट शुरु भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १७ समूहको सहभागिता रहेको छ ।
बिहिबार भएको खेलमा शान्ति नमुना मा.वि, सञ्जिवनी बोर्डिङ र स्कलर्श होम बोर्डिङ अघिल्लो चरणमा प्रवेश गरेका छन् । शान्ति नमुनाले रुपन्देही लीलाराम मा.वि.लाई ५–० को गोल अन्तरमा हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो । शान्तिको जीतका लागि आकाश डुम्रेले ३, गोविन्द थापा र शिखर चौधरीले १–१ गोलको योगदान गरेका थिए ।
सञ्जिवनीले लुम्बिनी वल्र्डलाई र स्कलर्श होमले न्यू इन्भाइरमेन्टलाई ट्राइव्रेकरमा हराँउदै अघिल्लो चरणको यात्रा तय गरेका हुन् ।
यसअघि शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एन्फा रुपन्देहीका अध्यक्ष लोक पुन, विद्यालयका अध्यक्ष शरद भट्टराई, सदस्य बुुद्धिप्रसाद डुम्रे, प्रधानाध्यापक कुलप्रसाद लामिछाने, सहायक प्रधानाध्यापकहरु लोकनाथ कंडेल, दिपेन्द्र शाक्य लगायतले शुभकामना दिनुभएको थियो ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।

शान्ति नमुनामा नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण

तिलोत्तमा, असार ३० । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको लागि सोमबार अभिमुखिकरण कार्यक्रम गरेको छ ।
विहानी र दीवा समूहका विद्यार्थीहरुलाई छुट्टाछुट्टै कार्यक्रम गरेर विद्यालयको संरचना, पठन पाठनका पद्धति, संस्कार, जीवनमा सफलता प्राप्त गर्नका लागि अपनाउनुपर्ने कार्यहरु लगायतका विषयमा जानकारी गराईएको थियो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शान्ति नमुनाले नगरको मात्र नभएर देशकै शान बढाएको भन्दै अब्बलताको उत्कृष्ट उदाहरणको रुपमा आफूलाई प्रमाणित गरेको बताउनुभयो ।
यस्तै शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव बञ्जाडेले रुपन्देही जिल्ला देशकै शैक्षिक हव बन्न सफल भएको भन्दै त्यसको लागि शान्ति नमुनाले पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा वडा नं ५ का अध्यक्ष रमेश डुम्रे, वडा नं ६ का अध्यक्ष गणेश पाठक, विद्यालयका सल्लाहकार टेक बहादुर थापा, प्रधानाध्यापक कुल प्रसाद लामिछाने, कक्षा ११ का संयोजक भोजराज वस्ती, विद्यार्थी सर्वदा विश्वकर्मा लगायतले विचार व्यक्त गर्नुभएको थियो ।
विद्यालयका अध्यक्ष शरद भट्टराईको अध्यक्षता तथा शिक्षक दिनेश खड्काको सहजिकरणमा भएको कार्यक्रममा कक्षा ११–१२ संयोजक राजेन्द्र के.सी., विज्ञान समुह संयोजक लिलाबल्लभ पाण्डे, वरिष्ट अधिवक्ता तुल्सीराम ढकालले विभिन्न विषयका सन्दर्भमा अभिमुखिकरण गर्नुभएको थियो ।
सोही अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुती राखेका थिए भने उत्कृष्ट स्वंयमसेवकलाई पुरस्कृत गरिएको थियो ।

शान्ति नमुनामा उद्यमशिलता प्रस्तुतीकरण कार्यक्रम

तिलोत्तमा, जेठ १९ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना मा.वि.मा सोमबार उद्यमशिलता चुनौती कार्यक्रम अन्तरगत योजना प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । हेल्भेटास तथा इन्स्योर परियोजनाद्वारा सञ्चालित र तिलोत्तमा नगरपालिकाको समन्वयमा कार्यान्वयनमा रहेको कार्यक्रम अन्तरगत आजको अन्तिम चरणमा २३ समुहले प्रस्तुतीकरण राखेका थिए ।
जसमा उत्कृष्ट हुने ६ समूहले उद्यमशिता विकासका लागि जनही १० हजार पुरस्कार प्राप्त गरेका छन् । उनीहरुले सो रकम उद्यमशिलताको लागि लगानी गर्नेछन् । यसअघि विभिन्न चरणहरु पार गरी विद्यार्थीहरुले अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । कक्षा १० मा अध्ययनरत करीव ६ सय विद्याथीहरुलाई विभिन्न चरणका कार्यक्रममा सहभागी बनाएर उद्यमशिलताको बारेमा जानकारी गराइएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, वडा नं ५ का अध्यक्ष रमेश डुम्रे, कार्यपालिका सदस्य रबि सेन्चुरी, वृत्ति मार्गनिर्देशन कार्यक्रमका प्राविधिक अधिकृत दिलिप बोहोरा लगायतले बोल्दै विद्यार्थीमा उद्यमशिलताको विकास गर्न र उनीहरुलाई भविष्यमा सफल उद्यमी बन्न कार्यक्रम निकै महत्वपूर्ण र प्रभावकारी रहेको बताउनुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यको स्वागत तथा वृत्ति मार्ग निर्देशन शिक्षक दिनेश खड्काको सञ्चालनमा भएको प्रतियोगितामा कार्यक्रम संयोजक रजनी के.सी.ले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।
प्रतियोगितामा शिक्षकहरु धु्रवराज अर्याल, हिमाल पाण्डे र प्रकाश चापागाईले निर्णायकको भूमिकामा रहेर विद्यार्थीहरुलाई पृष्ठपोषण प्रदान तथा मूल्याङ्कनको कार्य गर्नुभएको थियो ।

शान्ति नमुनामा क्लवहरूको पुर्नगठन

तिलोत्तमा, जेठ ७ । रूपन्देहीको तिलोत्तमा–५ स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा विभिन्न क्लवहरूको पुर्नगठन गरिएको छ । १५ सदस्यीय बाल क्लवको अध्यक्षमा मेलिना घिमिरे, उपाध्यक्षमा आकृति पाण्डे र सुमित गिरी, सचिवमा सुवेक्षा पाण्डे, कोषाध्यक्षमा नेत्र बानिया र सहसचिवमा विवेक मिश्र चयन भएको क्लव संयोजक रजनी के.सी.ले जानकारी दिनुभयो ।
यसैगरी युवा रेडक्रस सर्कलको १५ सदस्यीय नयाँ समिति पुर्नगठन गरिएको छ । जसको अध्यक्षमा दिपिसा थापा, उपाध्यक्षमा ऋतिक गौतम, सचिवमा ईसा पुन, कोषाध्यक्षमा कृतिका न्यौपाने र सहसचिवमा समृद्धि ज्ञवाली चयन भएको संयोजक विष्णु प्रसाद अर्यालले जानकारी दिनुभयो ।
यस्तै क्विज क्लवको अध्यक्षमा दर्पण बाँनिया, उपाध्यक्षमा कृतिका पोखरेल र कृतिका न्यौपाने चयन भएका छन् भने कोषाध्यक्षमा करण कुमार लोध चयन भएको क्लवका संयोजक रचना सापकोटाले जानकारी दिनुभयो ।
यस्तै, एस क्यू सीको अध्यक्षमा सुयस पौडेल, उपाध्यक्षमा कृतिका शाह, सचिवमा दिव्या न्यौपाने र कोषाध्यक्षमा मिरा तिमिल्सिना चयन भएको संयोजक प्रकाश चापागाइले बताउनुभयो ।
यसैगरी शान्ति साहित्य वाटिकाको पनि पुनर्गठन भएको छ । जसको अध्यक्षमा दिपेन्द्र बाँनिया, उपाध्यक्षमा सुवेक्षा पाण्डे, सचिव रिया ज्ञवाली, सहसचिव सियाश्री पराजुली र कोषाध्यक्ष सुप्रिम पाण्डे चयन भएको संयोजक भीम भुसालले जानकारी दिनुभयो ।
यस्तै, शान्ति गणित क्लवको अध्यक्षमा सन्देश कंडेल, उपाध्यक्ष रामचरण जैसवाल, सचिव सुशान्त भण्डारी, सहसचिव सियाश्री पराजुली र कोषाध्यक्ष शिव खनाल चयन भएको संयोजक डिल्लीराज पाण्डेले बताउनुभयो । ।
यस्तै इको क्लवको अध्यक्षमा गरिमा गुरुङ, उपाध्यक्ष पुष्पराज अर्याल, सचिव लिला कुँवर, सहसचिव प्रशंसा पाण्डे, कोषाध्यक्ष आयुष्मा भुसाल चयन भएको संयोजक शारदा पाण्डेले जानकारी दिनुभयो ।
यसैगरी इन्ट्रयाक्ट क्लव अफ शान्तिको अध्यक्षमा विश्व ज्ञवाली, उपाध्यक्षमा प्रसंशा खनाल, सचिव प्रसिद्धि पुन, सहसचिवमा दिप्सिखा ढकाल, कोषाध्यक्षमा समिर कालीराज चयन भएको संयोजक कमल भट्टराईले बताउनुभयो ।
यस्तै आइसिटि क्लवको अध्यक्षमा संयोग ज्ञवाली, उपाध्यक्षमा गुञ्जित ज्ञवाली, सचिवमा दिपशिखा ढकाल र कोषाध्यक्षमा संकल्प पाण्डे चयन भएको संयोजक हिमाल पाण्डेले जानकारी दिनुभयो ।

© Sabal Post. 2026 All rights reserved. | Technology Partner: LgmNepal