
आफ्नै सांसदको विश्वास किन लिन सकेनन् मुख्यमन्त्रीले ? आलोचक भन्छन् – पार्टी हैन गुट चलाउंदा उनी कमजोर भए
सबलडेक्स । बैसाख, बुटवल- लुम्बिनी प्रदेशको सत्ता राजनीतिमा बैसाख १९ गते आइतबार दिनभर विद्युतीय तरंग जस्तै जे जस्ता उचारचढाव देखिए, झट्ट हेर्दा मुख्यमन्त्री शंकर पोखरेलले बाजी मारेको देखिन सक्छ । उनका समर्थकले पनि सबैखाले जालझेल र षड्यन्त्र परास्त गरेर नेतृत्व लिन सफल भएको तर्क गरिरहेका छन् । तर धेरैले पोखरेलले बाजी मारेको नभई राजनीतिक र नैतिकरुपमा कमजोर बनेको र इतिहासमा नमेटिने दाग लागेको टिप्पणी गर्छन् । सामाजिक सञ्जाल र भाषणमा विधि र पद्दतिका कुरा गर्न माहिर पोखरलले आफ्नै गुटमा सांसदले साथ छाडेपछि अल्पमतमा परेको थाहा पाएरै संसद छल्न राजीनामाको नाटक गरेर चोरबाटोबाट कुर्सीमा पुगेको आलोचकको टिप्पणी छ ।
हुन पनि पोखरेलकै जोडबलमा दाङ ३ ख बाट उम्मेदवार बनेर उपनिर्वाचन जितेकी विमला खत्री वलीले निर्णायक मोडमा उनको साथ छाडिन् । विमलाले त्यतिबेला माओवादी केन्द्र रोजेको घोषणा गरिन् जतिबेला शंकर पोखरेलले उनलाई समेत जोडेर आफू वहुमतमा भएको दावी गर्दै मुख्यमन्त्रीमा दोस्रोपटक दावी पेश गरेका थिए । वलीले साथ छोड्नु नै मुख्यमन्त्री पोखरलेका लागि सबैभन्दा ठूलो नैतिक र राजनीतिक धक्का सावित भएको छ । किनकी वलीले माओवादी केन्द्र रोजेपछि ८१ सदस्यीय प्रदेश सभामा एमालेको एकल वहुमत गुमेको हो । वलीलाई जोडेर पोखरेलले आफ्नो पक्षमा ४१ जनाको साथ रहेको दावी गरेका थिए । तत्कालीन नेकपाबाट चुनाव जितेकी विमला एमालेमा ओली समूहकै स्वर्गीय उत्तरकुमार वलीकी धर्मपत्नी हुन् । सडक दुर्घटनामा उत्तरकुमारको मृत्युपछि भएको उपनिर्वाचनमा मुख्यमन्त्री पोखरेलकै जोडबलमा पार्टीका पुराना र फरक समूहका नेतालाई छाडेर विमलालाई उम्मेदवार बनाइएको थियो । तर चुनाव जितेपछि पोखरेलले उनलाई वास्तै नगरेको एमाले दाङका अध्यक्ष टिकाराम खड्का बताउंछन् । विमला जस्तै ओली समूहकै कपिलवस्तुका सांसद दृगनारायण पाण्डेले पनि मुख्यमन्त्री पोखरेललाई धक्का लाग्ने गरी आइतबार नै पदबाट राजीनामा दिए । यिनै दुईजना सांसदलाई विश्वासमा लिन नसक्दा नै मुख्यमन्त्री पोखरेलले वहुमत गुमाउन पुगे । अल्पमतमा पर्दापर्दै जे जसरी पुनः मुख्यमन्त्री नियुक्त भएपनि शंकर पोखरेल यतिबेला चौतर्फी आलोचनाको शिकार भइरहेका छन् । टिप्पणी गर्न थालिएको छ–उनले बाजी मारेका वा जितेका हैनन्, बरु कमजोर भएका छन्, र इतिहासमै नमेटिने दाग लगेको छ । एमाले दाङ (माधव नेपाल पक्ष) का अध्यक्ष टिकाराम खड्का भन्छन्–‘मुख्यमन्त्रीले नै जोडबल गरेर आफ्नै गुटको ठानेर टिकट विमलाजीलाई टिकट दिनुभएको हो,अहिले किन विश्वासमा लिन सक्नुभएन उहांले जिम्मेवारी लिनुपर्छ’–खड्काले भने–‘उहांले पार्टी नभई गुट र त्यसमा पनि परिवार चलाउंदा उहां मात्र कमजोर बन्नुभएन,पार्टीलाई नै कमजोर बनाउनुभयो ।’ मुख्यमन्त्रीले वास्ता नगरेपछि विमलालाई माओवादी केन्द्रले सम्पर्क गरेर विश्वासमा लिएको खड्काले औंल्याए । मुख्यमन्त्रीले आफ्नो दलका सांसदलाई बेवास्ता गरेर अरु दलका सांसद तान्ने र पार्टीबाट कारवाहीमा परेका सबैलाई मन्त्री पद बांड्दै सत्ता जोगाउने कामले पनि आफैलाई कमजोर बनाएको खड्काले टिप्पणी गरे । ‘विमला र दृगनारायणले साथ छाडेपछि मुख्यमन्त्रीले वहुमत गुमाउनुभएको थियो तर संविधान कुल्चेर किर्ते तरिकाले कुर्सी नै प्यारो ठान्नुभयो, यसले उहांलाई मात्र नभई संघीयता र प्रदेशलाई नै कमजोर र बद्नाम बनाएको छ।’ विमला स्वयं पनि आफूलाई चुनावदेखि अहिलेसम्म सहयोग गरेकाले एमाले भन्दा माओवादी केन्द्र नै ठीक लागेर आफ्नै खुशीले रोजेको बताउंछिन् ।
सांसदबाट राजीनामा दिएका पाण्डेले पनि मुख्यमन्त्रीले पोखरेलकै ब्यवहारका कारण पार्टी र सांसद पदबाट राजीनामा दिएको आरोप लगाउंछन् । ‘मुख्यमन्त्रीले वजेट र सारा नियुक्ति आफ्नै जिल्ला र आफ्नै वरिपरिका मान्छेलाई मात्र दिनुभयो’–उनले भने–‘हाम्रा कुरा कहिल्यै नसुन्ने, आफ्नो कुरा मात्र लाद्ने र समर्थन मात्र खोज्ने उहांको चरित्रले साथ दिन सकिएन ।’नेकपा एमालेका नेता युवराज ज्ञवाली लुम्बिनी प्रदेश प्रकरणले शंकर पोखरेलमाथि मात्र नभई कम्युनिष्ट पार्टीमाथि इतिहासमै नमेटिने दाग लागेको उनी टिप्पणी गर्छन् । ‘लुम्बिनीमा जे भयो यसले राजनीतिक भ्रष्टिकरण र नैतिकताले हारेको प्रमाणित गरेको छ’–ज्ञवालीले भने–‘सत्ता,शक्ति र स्वार्थका लागि उहांहरु जे गरिरहनुभएको छ, यो जति भत्र्सना गरेपनि कम हुन्छ,यसले कम्युनिष्ट पार्टीमाथि जनताको विश्वास भताभुंग भएको छ,इतिहासमा नमेटिने दाग लागेको छ ।’ ज्ञवालीले लुम्बिनीसंगै केन्द्र र अन्य प्रदेशमा पनि यस्तै असंवैधानिक र स्वेच्छाचारी प्रवृत्ति मौलाएको बताए । पार्टी अध्यक्ष केपी ओलीले संसद विघटनबाट शुरु गरेको प्रतिगामी र असंवैधानिक कदमको श्रृंखलाको एउटा रुप लुम्बिनी प्रदेशमा देखिएको ज्ञवालीको ठम्याई छ ।
अधिवक्ता एवं अग्रज पत्रकार डा. बालकृष्ण चापागाईंले लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले अल्पमतमा परेको अवस्थामा सत्ता र शक्तिको दुरुपयोग अलोकतान्त्रिक र अराजनीतिक हिसाबले मुख्यमन्त्रीमा नियुक्ति र सपथ लिनुले प्रदेशवासीलाई नै लज्जित बनाएको टिप्पणी गरे । उनले तत्काल पदबाट राजीनामा दिई नयाँ मार्ग प्रशस्त गर्न आग्रह गरे ।
राजनीतिक विश्लेषक मनिकर कार्की आफू अल्पमतमा परेको थाहा पाएपछि पोखरेलले संसद छल्न राजीनामाको नाटक गरेका र चोरबाटोबाट मुख्यमन्त्री बन्नुले उनी बलियो होइन कमजोर सावित भएको तर्क गर्छन् । मुख्यमन्त्री वहुमतमा र बलियो भएको भए संसद फेस गर्नु पथ्र्यो तर संसद छल्न राजीनामाको नाटक गरेर आफूमाथि अविश्वास प्रस्तावको टुंगो लगाउन बोलाइएको विशेष अधिवेशन नै अन्त्य गराए’–कार्की भन्छन्–‘यो प्रकरणले पोखरेलको बचेखुचेको शाख पनि गुम्यो, उहां भाषण विधि पद्दतिका गर्ने ब्यवहार ठीक उल्टो गर्नुहुन्छ भन्ने पुष्टी भयो ।’ एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल भने विमला खत्रीले माओवादी रोज्नु र पाण्डेले सांसदबाट रानीनामा दिनुमा मुखयमन्त्री वा एमाले दोषी नभएको बरु विपक्षीको षड्यन्त्र भएको टिप्पणी गर्छन् । प्रदेशसभाका विपक्षी चार दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समेत अल्पमतको व्यक्तिलाई मुख्यमन्त्री नस्वीकार्ने र उनका कार्यक्रम वहिस्कार गर्ने घोषणा गरिसकेका छन् । चार दलले अल्पमतको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्न माग समेत गरेका छन् । यी परिघटनाले पनि मुख्यमन्त्री पोखरेललाई बलियो भन्दा कमजोर बनाउने देखिन्छ ।