स्याङ्जा बेलचौर स्थित इच्छाकालिका मन्दिरमा श्रीमद् देवीभागवत कथा एवम् किर्तन कार्यक्रम हुने भएको छ। कार्यक्रममा सुप्रसिद्ध कथावाचक श्री सुकदेव अधिकारी प्रमुख वाचक रहनुहुनेछ।
विश्वशान्ति, मेलमिलाप एवम् समृद्धिको प्रकरणमा ज्ञानयज्ञ हुन लागेको हो। हालसम्म मन्दिरमा रंगरोगन र भुइँढलान गरिसकिएको र थप तयारीमा जुटेको यज्ञ सम्पादन समितिका अध्यक्ष याम नारायण खनालले जानकारी दिनुभएको छ। खासगरी गाउँबस्तीमा पातलो वस्तीको कारणले आर्थिक भौतिकका साथसाथै नैतिक सहयोग र समर्थनको अपेक्षा राखिएको वहाँले बताउनुभयो। यज्ञ सम्पन्न, दैनिक पुजाआजाको निम्ति कोष निर्माण, मन्दिरको रंगरोगन एवम् भुई ढलान आदिको निम्ति स्वेच्छिक आर्थिक सहयोग उठाइने आर्थिक समितिका संयोजक इन्द्र प्रसाद खनालले बताउनुभयो।
उहाँले पैसा बचेको खण्डमा किर्तन गर्ने वाद्यवादनका उपकरण किनेर गाउँमा संगीतको तालीम संचालन गर्ने लगायत अन्य योजना रहेको बताउनुभयो। यज्ञ सम्पन्न गर्न झण्डै ६ लाख खर्च हुने अनुमान गरिएको छ। कार्यक्रमबाट उठेको रकम पारदर्शी रुपले सार्वजनिक गर्ने र एकएक रुपैयाँको हिसाब सम्पुर्ण गाउँबासीसामु सार्वजनिक गर्ने कुरा कोषाध्यक्ष लक्ष्मी खनालले बताउनुभयो।
गाउँले मिलेर गर्न लागिएको यज्ञ धर्म संस्कृतिको रक्षार्थ महत्त्वपूर्ण कदम रहेको र सम्पुर्ण गाउँबासीले आफ्नै यज्ञको रुपमा सफल पार्न सक्रिय हुनुपर्ने वडा अध्यक्ष एवम् यज्ञ सम्पादन समितिका संरक्षक नामदेव खनालले बताउनुभयो। बिहान पुजा, पाठ दिउँसो कथावाचन एवम् साँझको समयमा किर्तन एवम् छोटो औपचारिक कार्यक्रम हुने कुरा समितिका उपाध्यक्ष चक्रपाणी खनालले बताउनुभयो। यज्ञ सम्पादन भेलामा गाउँका वयोवृद्ध, महिला, युवा लगायतको उत्साहजनक रूपमा सहभागिता रहेको थियो।
यज्ञ सम्पादन गर्न तन मन वचनले लाग्ने प्रतिबद्धता बताएका थिए। यज्ञ सम्पादन गर्न समाजसेवी व्यक्तित्व लीलामणि खनाल, ढाकाराम खनाल, अम्बिका खनाल, लिला खनाल, विमला खनालले सहयोगको घोषणा गरिसक्नुभएको छ। खासगरी व्यक्ति, परिवार, राष्ट्र एवम् विश्वभरी शान्तिको कामना गर्नु समय सान्दर्भिक विषय हो। साथै शक्ति र समृद्धिकि देवी माता कालीसँग समृद्धिको अपेक्षा राख्नु समेत उपयुक्त हुन्छ, यज्ञ सम्पादन समितिका सदस्य ज्योतिलाल खनालले बताउनुभयो ।











