विषालु सर्प उद्धार तथा पुर्नस्थापनाका लागि तालिम

प्रकाशित मिति:

दाङ । डिभिजन वन कार्यालय घोराही दाङले सरोकारबाला निकायलाई आज बिहिबार एक कार्यक्रम गरी विषालु सर्प उद्धार तथा पुर्नस्थापनाका लागि सीप तथा प्राविधिक सहयोग सम्वन्धि तालिम दिएको छ ।तालिममा बिषालु र अविषालु सर्पको पहिचान, बिषालु सर्पको टोकाईबाट बच्ने उपाय र सर्प उद्धारका बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय घोराही दाङका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठले जैविक विबिधताको संरक्षण गर्ने उद्देश्य पुरा गरी सर्पलाई पनि प्रकृतिमा बाच्न पाउने अधिकारी सुनिश्चत गर्नका लागि कार्यालयले काम गरिरहेको बताउनुभयो ।सवै सर्पहरु विषालु नहुने र सर्पको पहिचान नहुदाँ सर्प मार्ने कार्य रोक्नका लागि बिगतका बर्षदेखि नै डिभिजन वन कार्यालयले सचेतनमूलक र संरक्षणमुखी कार्य गर्दै आइरहेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । दिगो ब्यवस्थापनको अभाव, सर्प देख्नासाथ मारिहाल्ने मानव प्रबृति, सर्प पहिचानका ज्ञान र उद्धारको सीपको कमी, अनुसन्धान र प्रचारप्रसारको अभावमा सर्प संरक्षणमा चुनौति देखिएपछि त्यसको समाधान गर्न कार्यालयले बर्षेनी योजना नै बनाएर काम गरेका कारण सर्प संरक्षणको कार्य सफलतातर्फ उन्मुख भएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रशिक्षक सर्प बिज्ञ बसन्त सुवेदीले पछिल्लो ७ बर्षमा आफूले ५ हजार बढी सर्पको उद्धार गरेको र त्यस क्रममा दाङमा २६ प्रजातिका सर्प भेटिएकोमा ६ प्रजातिमात्रै विषाालु सर्प पाइएको र बाकी २० प्रजाति अविषालु सर्प भेटिएको जानकारी दिनुभयो । आफ्ना अध्ययनमा नेपालमा ८९ प्रजातिका सर्प पाइएको र त्यसमध्ये १७ प्रजातिमात्रै विषालु सर्प भेटिएको सुवेदीको भनाई छ । विश्वमा पाइने सर्प मध्ये १२ प्रतिशत मात्रै विषालु सर्प हुने र बाकी ८८ प्रतिशत सर्प अविषालु सर्प रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।अविषालु सर्पले टोकेपनि मानिसको ज्यान नजाने तर विषालु सर्पले टोकेपछि समयमै सावधानी अपनाउन नसक्दा मानिसको ज्यान जाने गरेको भन्दै सुवेदीले त्यसका लागि सर्पले टोकिहाले पनि नआत्तिने, प्राथमिक उपचारका नाममा ढिलाई गर्न नहुने, धामी झाक्री र झारफुक तर्फ नलागि समयै अस्पताल पू¥याउने हो भने ज्यान जाने संख्यमा कमी ल्याउन सकिने बताउनुभयो । कार्यक्रममा सर्प उद्धार सम्वन्धि सीप जीवित सर्प ल्याएर देखाएर गरिएको थियो । डिभिजन वन कार्यालय र त्यस मातहमा रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, सामुदायिक वन समूहका उपभोक्ता लगायतकाको सहभागिता रहेको कार्यक्रममा सर्प बारेमा बिस्तृत जानकारी, सर्प पहिचानका तरिका, उद्धारको सीप र तरिकाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमको सहजिकरण डिभिजन वन कार्यालय घोराही दाङका सूचना अधिकारी मदन सापकोटाले गर्नु भएको थियो ।