ऐतिहासिक दस्तावेज तयार गर्दैै गुल्मेली सम्पर्क समाज

प्रकाशित मिति:

फागुन–११-तिलोत्तमा ।गुल्मेली सम्पर्क समाज रुपन्देहीको पूर्ण बैठक गुल्मेली स्मारिका प्रकाशन र शालिकराम महोत्सवलगायत विविध विषयमा छलफल गरी आइतबार सम्पन्न भएको छ ।गुल्मेली भाषा, कला, साहित्य, संस्कृति, भाषा, धर्म, राजनीति, अर्थलगायत विविध विषयलाई समेटेर तयार गर्न लागिएको स्मारिका गुल्मीको ऐतिहासिक दस्तावेज र गुल्मीको समग्र चिनारीको कासेढुङ्गा हुने कुरा समाजले जनाएको छ ।बैठकमा समाज स्थापनाको २१ औँ वर्षमा प्रकाशन गर्न लागिएको स्मारिका प्रकाशनको व्यवस्थापकीय प्रगति विवरण प्रस्तुत गर्दै स्मारिका प्रकाशन समितिका संयोजक लोकनाथ उपाध्यायले सबै क्षेत्रबाट स्मारिका प्रकाशनका लागि साथ, सल्लाह, सुझाव र सहयोग प्राप्त हुने अपेक्षा राख्नुभएको थियो ।

त्यसैगरी आर्थिक उपसमितिका संयोजक हेम थापाले स्मारिका प्रकाशनका लागि आवश्यक पर्ने आर्थिक सङ्कलनको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै उक्त स्मारिकामा विज्ञापन प्रदान गर्न विभिन्न संघसंस्था, व्यापारिक प्रतिष्ठान र सहयोगी व्यक्तित्वहरूलाई आग्रह गर्नुभएको थियो भने सम्पादन मण्डलका संयोजक पुरुषोत्तम पाण्डेयले हालसम्म प्राप्त भएका लेखरचनाका बारेमा प्रकाश पार्दै लेखकहरूको आग्रहमा आगामी चैत २० गतेसम्मका लागि लेखरचना पठाउने म्याद थप गरिएको जानकारी गराउनुभएको थियो ।बैठकमा समाजका आजीवन सदस्य रचना पन्त भट्टराईले रुरु शालिग्राम महोत्सव– २०८१ का बारेमा अवधारणा प्रस्तुत गर्नुभएको थियो । त्यसका सम्बन्धमा छलफल गरी हिन्दु धर्मावलम्वी र हिन्दु धर्ममा विश्वास गर्ने समुदायको आस्थाका केन्द्र श्रीहरि भगवान् विष्णुका साक्षात् प्रतिनिधिका रूपमा जीवित अवस्थिति जनाउने शालिग्राम र यस्तो विशेष प्रकृतिको पत्थर पाइने संसारकै एकमात्र नदी कालिगण्डकीको संरक्षण, सम्वर्धन र यसको प्रचार प्रसारले धर्म, संस्कृतिको जगेर्ना र पर्यटनमा समेत योगदान पुग्ने हुनाले सबैले आ–आफ्नो ठाँउबाट हातेमालो गर्दै यस अभियानलाई सफल बनाउन गुल्मेली सम्पर्क समाज लाग्ने र अरुलाई पनि यस अभियानमा जोडिन आग्रह गर्ने निर्णय गरिएको कुरा समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थले बताउनुभयो ।

त्यसैगरी बैठकमा रङहरूको पर्व होलीको अवसरमा बेलाबेलामा रङ्ग बदल्नेहरूभित्र रहेको होलिका प्रवृत्तिको दहन भई सत्मार्गमा लाग्ने प्रेरणा सबैलाई प्राप्त होओस् भन्ने शुभकामना एकआपसमा आदानप्रदान गरिएको थियो ।बैठकमा उपचाररत समाजका सचिवालय सदस्य राजेन्द्र कुँवरको पूर्ण स्वास्थ्य लाभको कामना गरिएको थियो भने फागुन १९ मा सम्पन्न गुल्मेली वनभोज कार्यक्रमको समीक्षा गरिएको थियो ।
त्यसैगरी समाजका महासचिव कृष्णप्रसाद पोखरेलका पूजनीय पिता खुमलाल पोखरेलको ८५ वर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना र स्वर्गीय खुमलाल पोखरेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दैै शोक प्रस्ताव पारित गरिएको थियो ।
डा. नारायणप्रसाद पन्थको अध्यक्षता, सल्लाहकार प्रा.डा. बुद्धबहादुर थापा, झविन्द्र कँडेल र पशुपति घिमिरे, श्री श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, खेमओमी पुन कल्याणकारी प्रतिष्ठानकी अध्यक्ष ओमी पुनलगायतको आतिथ्यतामा सम्पन्न बैठकको सञ्चालन सचिव पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो भने बैठकमा समाजका पदाधिकारी र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।