सरावल गाउपालिकाको ५३ करोडको आगामी बजेट

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असार १० गते
नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएर निति कार्यक्रम र बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१\०८२ का लागी आज ५३ करोड बढिको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको १४ औं गाउँ सभामा उपाध्यक्ष बासमती हरिजनले कुल ५३ करोड ४८ लाख ७१ हजार बराबरको अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्नुभयो । चालु तर्फ ३१ करोड ९३ लाख र पुँजीगत अर्थात विकास बजेट २१ करोड ५५ लाख विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा संघीय सरकारको समानीकरण, सशर्त अनुदान, पुजीगत, समपुरक अनुदान, लगायत गरी कुल ३३ करोड ९३ लाख प्राप्त हुने जनाईएको छ । त्यस्तै प्रदेश समानीकरण, सशर्त अनुदान पुजीगत, विशेष अनुदान गरि कुल २ करोड ५० लाख, प्राप्त हुने अनुमान सहित बजेट सार्वजनिक गरिएको छ ।

आगामि आर्थिक वर्षमा सरावलमा आर्थिक क्षेत्रमा ३ कारोड ४४ लाख, सामजिक विकास तर्फ २२ करोड ९४ लाख, विकास र पुर्वधार तर्फ १४ करोड २९ लाख, वनवातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड ५५ लाख र कार्य संचालन र प्रशासनिक क्षेत्रमा १२ करोड ६० लाख ७१ हजार बजेट विनियोजन गरिएको उपाध्यक्ष हरिजनद्धारा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।

सरावल गाँउपालिकाले दुग्ध किसानलाई आत्मनिर्भर बनाउन प्रति लिटर ५० रुपैयाँ अनुदान दिने बजेटमा व्यवस्था गरेको छ । साथै पशु बिमाको निरन्तरता, एक वडा एक पकेट क्षेत्र कार्यक्रम, लघु उद्यमबाट रोजगारी सृजना लगायतका विषय बजेटले समेटेको छ । महिला स्वास्थ्य स्वयम सेविकालाई प्रति महिना २ हजारका दरले प्रोत्साहन भत्ता दिने पनि बजेटमा उल्लेख गरिएको छ । साथै गाँउपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण गर्न डेढ करोड बजेट विनियोजन गरिएको जनाईएको छ ।

बजेट अगाडी निति तथा कार्यक्रम प्रस्तुत गर्दे सरावल गाँउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, लगायतका क्षेत्रलाई प्राथमिकता दिएर निति तथा कार्यक्रम र बजेट ल्याएको बताउनुभयो । कृषिमा किसानलाई स्वालम्बि बनाउन व्यवसायीक कृषिको प्रर्वद्धन गर्दे जाने र अधुरा योजना पुरा गर्ने लक्ष्य लिएको निति तथा कार्यक्रममा उल्लेख छ । गाँउ सभालाई सम्बोधन गर्दे जिल्ला समन्वय समितिका प्रमुख भगौति यादवले पालिकाको हित र स्थानिय गाउँबासीको विकासकालागि पालिकाले ल्याएका योजना प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

यसै गरि गाउपालिकका प्रमुख प्रशासकिय अधिकृत विशाल मिश्राले पालिकाको हितका लागि विकासका योजनामा आधरीत निति तथा कार्यक्रम ल्याइएको बताउनु भयो । सभामा वडा नं. ३ का वडा अध्यक्ष एवं न्यायिक समिति सदस्य फिङ्गगि चौधरीले न्यायिक प्रतिवेदन प्रस्तुत गर्नु भएका थियो ।