सुनसान डांडो बसन्तपुर बन्यो गुल्जार पर्यटकीय थलो

प्रकाशित मिति:

बुटवल । दशकौं वर्र्षसम्म सुनसान पाल्पाको तिनाउ गाउपालिका–३ को बसन्तपुर डांडो अहिले प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।२५ वर्षअघि २०५३ सालमा स्थानीय लक्ष्मण गौतमले बुटवलबाट बसन्तपुर डांडो जोड्ने केबलकारको परिकल्पना गरेका थिए । उनले तेजप्रसाद अन्य स्थानीय लगानीकर्तालाई समेटेर करिब सय रोपनी जग्गा खरिद गरी प्रकृया शुरु गरेका थिए । तर आवश्यक पुंजि अपुग हुंदा डेढ दशकसम्म परियोजना अलपत्र थियो ।५ वर्षअघि चन्द्रप्रसाद ढकाल समूहको आईएमई ग्रुपले नेतृत्व लिएपछि भने केबलकार निर्माणले गति लियो र शुरु गरेको २ वर्षमै केबलकार सपना सार्थक भयो । २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारको माथिल्लो स्टेशन बसन्तपुर डांडोमा बनेपछि सो गाउं आकर्षक पर्यटकीय गन्तव्य बनेको हो ।केबलकार बनेसंगै सुनसान गाउंमा आन्तरिक र वाह्य पर्यटकको आगमनले चहलपहल बढेको छ । सञ्चालनमा आएको १७ महिनामा लुम्बिनी केबलकारमा तीन लाख बढी पर्यटक आएका कम्पनीले जनाएको छ । केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुंदै आएको दुर्गा माताको मन्दिरलाई पुनःनिर्माण गरी नयां बनाइएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन् ।

कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरु उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउंछन् ।माथिल्लो स्टेशनमा जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान, रेष्टुरा, ज्वायन्ट स्वीङ (पिङ) लगायत पूर्वाधार बनेका छन् । बसन्तपुरबाट बुटवल, तिलोत्तमा हुंदै भैरहवासम्मको दृश्य र मौसम सफा हुँदा हिम श्रृंखला समेत देख्न सकिन्छ ।केबलकार नबन्दासम्म गाउं सुनसान थियो, बाटो, गाडी र पानीको सुविधा नहुदा गाउंलेहरु बसाई सराई गरेर गाउं रित्तिन थालेको थियो, अहिले दिनहुं सयौं मान्छे घुम्न आउंछन्, गाउं नै रमाइलो र गुल्जार भएको छ’–स्थानीय गणेश श्रीस मगरले भने–‘रित्तो डांडो यति रमाइलो र चहलपहल होला भन्ने सोचेकै थिएनौं, केबलकार बनेपछि डांडोको मुहार नै फेरिएको छ।’
केबलकार बनेपछि पानी र यातायातको सुविधा भएको, रोजगारी पनि पाएको र उत्पादन गरेका कृषि उपजले सजिलै बजार पाएपछि गाउंमा खुशी छाएको श्रीसले बताए । यहाँ करिब सय जनाले रोजगारी पाएका छन्, जसमा स्थानीयको बाहुल्यता छ ।समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको तिलोत्तमामा बस्दै आएका अमृत पाण्डेय बताउंछन् ।
धार्मिक र पर्यटकीय पुर्वाधार, जुनसुकै ऋतुमा अनुकुल मौसम,बजारको कोलाहल र प्रदुषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण बसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाईको थलो बनेको केबलकारका प्रबन्धक प्रज्ज्वल घिमिरेले बताए । घिमिरेका अनुसार १७ महिनामा आन्तरिक पर्यटक २ लाख २४ हजार, भारत सहित सार्क मुलुकबाट २४ हजार २३५ जना, तेस्रो मुलुकका ११२ जना, बुटवल वडा नं ३ र पाल्पा तिनाउ –३ का ६ हजार ५६९ जना (टिकटमा ५० प्रतिशत छुट) तथा चाडपर्व लगायत अफरमा सहुलियत टिकटमा ६१ हजार गरी ३ लाख १५ हजार ९१६ जना पर्यटक लुम्बिनी केवलकार चढेर बसन्तपुर पुगेका छन् ।

तिनाउं गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले लुम्बिनी प्रदेशको पहिलो केबलकारको ाथिल्लो स्टेशन बसन्तपुरमा बनेपछि उक्त ठाउं आकर्षक पर्यटकीय गन्तव्य बनेको बताए । ‘दुई वर्ष अघिसम्म सुनसान थलो अहिले तिनाउ गाउंपालिकाको मात्र हैन प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ’–अध्यक्ष श्रेष्ठले भने–‘१७ महिनामा तीन लाख बढी पर्यटक आउनु धेरै सकारत्मक हो, प्रति टिकट २ प्रतिशत रकम तिनाउ गाउंपालिका र बुटवल उपमहानगरपालिकालाई कर वापत दिएको छ, यसले स्थानीय विकासमा पनि राम्रै योगदान भएको छ ।’केबलकारले दुई वटा स्थानीय तहलाई असोजसम्म १५ लाख २७ हजार ४३२ रुपैयांका दरले ३० लाख ५४ हजार ८ सय ६७ रुपैयां कर तिरेको कम्पनीले जनाएको छ । यसवाहेक तिनाउ गाउंपालिकालाई मनोरन्जन कर वापत एक लाख ३ हजार ६२५ रुपैया तिरेको छ ।अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी संख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर डीएन कायस्थ सैंजू बताउंछन् ।केबलकार सञ्चालनमा आएपछि प्रदेश सरकारको पर्यटन विकास परिषद्ले बसन्तपुरलाई प्रमुख पर्यटकीय थलको सूचिमा सूचीकृत गरेको परिषद्का प्रमुख रामु जोशीले बताए ।
‘लुम्बिनी केबलकार सञ्चालनमा आएपछि बुटवल र बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको छ’–जोशीले भने ।

केबलकार र पाँचतारे होटेलसहित कुल लागत ५ अर्ब रुपैयाँ लागतको आयोजना अन्तर्गत दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा बसन्तपुरमा एकसय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँचतारे होटेल बनाउने प्रकृया अघि बढेको छ । केबलकार कम्पनीले बसन्तपुरमा होमस्टे सञ्चालन गर्न गाउंलेलाई आग्रह गरेको छ । उत्पादन भएका सबैखाले कृषि उपज खरिद गरिदिने तथा रोजगारीका लागि योग्य जनशक्ति भए रोजगारी दिने ग्यारेन्टी गरेको केबलकारका प्रबन्धक प्रज्ज्वल घिमिरेले बताए ।‘२५ वर्षअघि परिकल्पना गरेर धेरै दुःख, हण्डर खांदै बीचमा धेरैले विश्वास गर्न छाडेको अवस्थामा केबलकार सञ्चालनको सपना पूरा भएको छ,यसले बसन्तपुर र बुटवल दुबैलाई गुल्जार बनाएको छ’–केबलकारका परिकल्पनाकार लक्ष्मण गौतमले भने–‘निजी क्षेत्रबाट ठूलो लगानी भएको यस्ता परियोजनालाई दीगोरुपमा चलाउन सरकारी निकायबाट साथ र सहयोग हुनुपर्छ,पर्यटकमैत्री नीति नियम बनाउनुपर्छ ।’बुटवलमै स्थानीय लगानीकर्ता रहेको सिद्धार्थ केबलकार पनि सचालनमा आएको छ । तर औपचारिक उद्घाटन भएको छैन ।