प्रकाश न्यौपाने
फाल्गुन २ गते
नवलपरासी । नेपाल शिक्षक संघको सातौं स्थानीय प्रतिनिधि सभा विभिन्न निर्णय र प्रतिबद्धतासहित सम्पन्न भएको छ। बर्दघाट नगरपालिका , प्रतापपुर र सुस्ता गाउपालिकाको प्रतिनिधि सभा शनिबार सम्पन्न गरिएको छ।
शिक्षक संघ बर्दघाट नगर कार्यसमितिका अध्यक्ष रमेश लम्सालको अध्यक्षता तथा संघका पुर्व केन्द्रिय सदस्य केशव निरौलाको प्रमुख आथित्यतामा प्रतिनिधि सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै संघका पूर्व केन्द्रीय अध्यक्ष केशव प्रसाद निरौलाले शिक्षकहरूको हक–हित स्थापना गर्न संघले विगतदेखि वर्तमानसम्म महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले प्रजातन्त्रको स्थापना र लोकतन्त्रको रक्षामा शिक्षक आन्दोलनको योगदान उल्लेखनीय रहेको बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लाल प्रसाद पङ्गेनीले स्थानीय तहबाट विचारका आधारमा विभेद भइरहेको भन्दै विद्यालय शिक्षालाई संघीय सरकारको मातहतमा राखिनुपर्ने धारणा राख्नुभयो। उहाँले वैचारिक बहसमार्फत राजनीतिक सचेतना फैलाउन शिक्षकहरू अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।
संघका पूर्व केन्द्रीय सदस्य नेत्रलाल न्यौपानेले शिक्षकका माग सम्बोधनका लागि २९ दिन लामो आन्दोलन गर्नुपरेको स्मरण गर्दै राजनीतिक नेतृत्वले शिक्षकका मुद्दालाई गम्भीरतापूर्वक नलिएको गुनासो व्यक्त गर्नुभयो। जिल्ला अध्यक्ष भोजराज चापागाईंले शिक्षकहरू गुणस्तरीय शिक्षाको आधारस्तम्भ भएकाले शिक्षण पेशालाई मर्यादित र व्यवस्थित बनाउन समयमै शैक्षिक बहस सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा संघका पूर्व जिल्ला अध्यक्ष मोहन शर्मा, श्रावण कुमार कुशवाह, पुर्व शिक्षक तपचन्द्र बिश्वकर्मा, प्रीतम सिंहलगायतले पनि धारणा राख्नुभएको थियो। शिक्षक संघ नवलपरासीका कार्यवाहक सचिव अर्जुन पाण्डेको सञ्चालनमा रहेको कार्यक्रममा स्वागत मन्तव्य संघ सुस्ता गाउँका अध्यक्ष अनिरुद्र यादव र खिरिनारायण चौधरीले गर्नुभएको थियो।












