बर्दघाटको मेलाले सृजना गरेका तरङ्ग

प्रकाशित मिति:

बर्दघाट नगरलाइ यतिखेर बर्दघाट मेला आयोजना गर्ने या नगर्ने भन्ने बिषयले जुरुक्क ऊठाएको छ । व्यवसायी, बिधार्थी, शिक्षक, किसान मजदुरदेखि हरेक तप्काका जनसमुदायहरुलाई यस बिषयले यस अघि कहिल्यै यति बिघ्न सोच्न बाध्य बनाएको सायद थिएन । अनि यति साह्रो बहस गर्नुपर्ने यो बिषयबस्तु पनि होइन । देशैभरि चलिरहेको यस्तो मेला बर्दघाटको लागि नौलो पटक्कै होइन, बर्दघाटले सफलतापूर्वक छैटौ पटक बर्दघाट मेला आयोजना गरिसकेको दृष्टान्त छदैछ । अन्तर्यमा जेसुकै भएपनि बर्दघाट मेलाको बिषय यतिखेर सार्वजनिक बौद्दिक बहसको कुरा बनिसकेको छ ।


बर्दघाट उधोग बाणिज्य संघको आयोजनामा संचालन हुदै आइरहेको बर्दघाट मेला २०८० सालमा सातौं पटक आयोजना भएको इतिहास बन्ला या नबन्ला आगामी दिनले पक्कै बताउने छ । बजारमा सतहमै देखिएका तर्क बितर्क , बाद बिबाद एवं आबेगात्मक अभिव्यक्तिको वरिपरी रुमलिनु भन्दा तथ्यपरक केहि सवालमा बहस केन्द्रित गर्नु वान्छनीय हुन्छ ।
यसअघि संचालन भएको बर्दघाट मेलाबाट बर्दघाट नगरवासीले प्राप्त गरेको उपलब्धिहरु आजसम्म जनस्तरमा आउनेगरी सार्वजनिक भएको थाहा पाइएको छैन । सायद एकदमै उपलब्धिपूर्ण भएको भए यस्ता बिबाद ओझेलमा पर्ने थिए । यस अघि सम्पन्न भएका मेलाहरुलाई औधोगिक, व्यापार र कृषि मेला भनिएता पनि बर्दघाटका व्यवसायीहरुले लाभ प्राप्त गर्न नसकेको छनक यतिखेर सतहमा बाहिर आएका कुराहरुले प्रस्ट परेको छ । बर्दघाटका व्यावसायीहरुले स्टलमा गर्ने व्यवसाय भन्दा मनोरंजनतर्फ वाहिरबाट आएका व्यवसायीहरुले प्राप्त गर्ने लाभ अधिक पक्कै होला भनि जो कोहिले अनुमान लगाउन सकिन्छ ।


किनमेलको लागि भन्दा पनि रमाउनको लागि अधिकांश मानिसहरु टिकट तिरी मेला प्रवेश गरेका हुन्छन । देशका आधिकांश स्थानमा आयोजना भैरहेका यस्ता कार्यक्रमहरु मूलतः मनोरन्जन केन्द्रित देखिन्छन भने स्थानीय कृषि, उधोग, व्यापार प्रबर्दन सहायक कुरा हुन । बर्दघाट कृषि, उधोग तथा व्यापारको ब्यानरमा यस अघि सम्पन्न भएका मेलाहरु पूर्णत मनोरन्जनात्मक मेलाहरु नै थिए ।


मेलामा प्रौढ भन्दापनि बालबालिका, किशोरकिशोरी, युवायुवती, बिधार्थीहरुकै उपस्थिति बलियो रहन्छ । त्यो समुह मूलतः रमाउन नै जाने हो । पैसाले भ्याएसम्म मेलाभित्र भएका सम्पूर्ण खेल खेल्न चाहन्छ । रास्ट्रीय कलाकारहरुलाई नजिकबाट हेर्न चाहन्छ । नाच्न चाहन्छ । गाउन चाहन्छ । दुइचार घण्टा भएपनि छुट्टै दुनियामा भुल्न चाहन्छ । देशभरी भैरहेका मेलाहरुसंग पर्यटन, कृषि, औधोगिक,व्यापार जस्ता पक्षहरु जोडिएको भएतापनि त्यस्ता मेलाहरुमा मुख्यतः मनोरंजनको पक्ष नै हावी हुन्छ । यस यथार्थबाट बर्दघाट मेला वाहिर रहन सक्दैन । मनोरंजनसंग जोडिएको व्यवसायी बर्दघाट नगरभित्र खासै नभएको हुदा बाहिरी व्यवसायीनै लाभको भागीदार हुने नै भए ।
बर्दघाट मेलाबाट बर्दघाटको जीवनयापनमा कस्तो असर पर्दछ भन्ने सवालमा केन्द्रित बनौ । मुख्यतः देखिनेगरी यसले विधार्थीहरुमा उत्साह, उमंग र मनोरंजन प्रदान गर्दछ । अझ भनौ, बिधार्थीको मानसिक थकानलाइ कम गर्छ । स्थानीय कलाकारहरुको निम्ति पहिचान स्थापित गर्ने महत्वपूर्ण अवसर बन्दछ । स्थानीय कला, संस्कृति जगेर्ना गर्न धेरैथोरै योगदान पुर्याउदछ । स्थानीय व्यवसायीका लागि तुरुन्त लाभ भन्दापनि आफ्नो व्यापारको विज्ञापन गर्ने अवसर बन्न सक्दछ । ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति नजिकैबाट हेर्ने मौका प्रदान गर्दछ ।उधोग वाणीज्य संघका नव निर्वाचित पदाधिकारी एवं सदस्यहरको सक्रियतासंगसंगै नेर्तित्व क्षमता देखाउने महत्वपूर्ण कडी बन्न सक्दछ ।


स्थानीय व्यवसायिकाहरुका निम्ति खासै लाभ हुन नसक्ने मेला किन आयोजना गर्नु पर्यो त भन्ने सवाल उठ्न सक्दछ । कतिपय बिषयबस्तुहरुलाई आर्थिक लाभ र हानीको तराजुमा मात्र सिमित राख्नु राम्रो हुदैन । समाजमा देखिने अस्तित्व, समाजले दिने इज्जत, प्रतिष्ठा एवं पहिचानको भिन्नै महत्व रहन्छ । यस्ता कार्यक्रमहरुमा लाखौं बिधार्थीहरु, युवा समूह, बुढापाकाहरुको उपस्थिति हुने गर्दछ । बालबालिकादेखि वृद्दहरुको समेत उल्लेखनीय जमघट हुने कार्यक्रमहरुले उक्त स्थानको पहिचान स्थापित गर्दछ । सभ्य र भब्य तरिकाले सम्पन्न हुने कार्यक्रमहरु समाजका गहना हुन् । देशभरि संचालन भैरहेका यस्ता कार्यक्रमहरुलाइ स्थानीय व्यवसायीहरुको सामाजिक दायित्वको आखिझ्यालबाट हेरिनु उपयुक्त हुन्छ ।



बर्षमा एकपटक आयोजना हुने नगर स्तरको यस्तो बृहत कार्यक्रम संचालन गर्दा सरोकारवालाहरुसंग वार्तालाप गरी सबैले अपनत्व लिनेगरी अघि बढ्नु आवश्यक हुन्छ । सर्वपक्षीय अपनत्वको अभावमा बिबादको जन्म हुन्छ , फलस्वरुप कार्यक्रम बिबादित बन्न पुग्छ जुन शोभनीय हुदै होइन । यस्तो बिबादले नगरको शिर उच्च हुन सक्दैन । एकता र सौहार्दपूर्ण वातावरणलाइ धमिल्याउदछ । बर्दघाट उधोग वाणिज्य संघले नदेखिने यस्ता कार्यक्रमहरु पक्कै गरिरहेको होला तर सार्वजनिकरुपमा देखिएको बर्दघाट मेला नै सबैभन्दा ठुलो कार्यक्रम हो । यस्ता कार्यक्रमहरुलाई सफल बनाउन सबैको मन सफा हुनु आवश्यक छ ।अन्त्यमा, कार्यक्रम संचालन गर्नुपूर्व बर्दघाट उधोग वाणिज्य संघले खेल्नु पर्ने समन्यवकारी भूमिकाको बारेमा उसैले जानोस तर कार्यक्रम संचालनको समय वा मौसम भने हेक्का पटक्कै नराखेको देखियो । शैक्षिक सत्रको आखिरी समय, एसईई, एसएलसी जस्ता परीक्षाको मुखैमा यस्तो कार्यक्रम राखिनु हुन्नथ्यो ।


व्यापारको लागि समेत फागुन(चैत महिना भन्दा नेपालमा मनाइने ठुला चाड दशैँ तिहारलाई नै लक्षित गरेर यस्ता मेलाहरु आयोजना गर्नु श्रेयस्कर हुन्छ । यावत बेमेल भएतापनि यदि बर्दघाट मेला यो बर्ष भएन भने त्यो राजनीतिक कारण हो भनि बुझिनु पर्दछ । जुन दुर्भाग्यपूर्ण छ । आशा गरौं त्यसो नहोस । तर भन्नै पर्छ यस्ता कार्यक्रमहरु असोज, कार्तिक,मङ्सिर, पुस, माघ बाहेकका महिनामा आयोजना गरिनु हुदैन ।