शान्ति नमुनामा मेदिनी सेक्टरको उद्घाटन र कक्षा आरम्भ

वैशाख १५, तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा-५, मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको मेदिनी सेक्टरको औपचारिक उद्घाटन तथा नयाँ शैक्षिक सत्रको कक्षा आरम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाविद् र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले मेदिनी सेक्टरको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै नगर प्रमुख खाँणले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा यस्ता पहलहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

यस्तै, कार्यक्रममा तिलोत्तमा वडा नं. ५ का अध्यक्ष रमेश डुम्रे, शिक्षा अधिकृत धनिराम पन्थी र विद्यालयका सल्लाहकारहरू टेक बहादुर थापा तथा अर्जुनराज उपाध्याय लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले स्वागत गर्दै विद्यालयलाई उत्कृष्ट र नमुना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। मेदिनी सेक्टर संयोजक सीता पुर्जाले सबै अभिभावक र विद्यार्थीको मन जितेर विद्यालयलाई उदाहरणीय बनाउने विश्वास दिलाउनुभयो।

विद्यार्थीहरूलाई प्रोत्साहन गर्न विद्यालय व्यवस्थापन समितिका सदस्यहरू बुद्धिबहादुर डुम्रे, कौशिला रायमाझी, सहायक प्रधानाध्यापक लोकनाथ कँडेल, दिपेन्द्र शाक्य, शिक्षक अभिभावक संघका कार्यवहाक अध्यक्ष अञ्जन धिताल, सदस्यहरू सुनिता पाण्डे भुसाल र तुलसी खनाल लगायतको उपस्थिति थियो।

शिक्षक दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा खुसी व्यक्त गर्दै मेदिनी आधारभूत विद्यालयका पूर्व अध्यक्ष जगत पौडेल र चरित्र ज्योति नारी जागरण आमा समूहका प्रतिनिधिहरूले पनि ऐक्यबद्धता जनाउनुभएको थियो।

मेदिनी सेक्टरको सञ्चालन र कक्षा आरम्भसँगै विद्यार्थी तथा अभिभावकहरूमा नयाँ उत्साह देखिएको छ।

दिनेश खड्काको प्रेरणादायी गीत “नेपालीको मन” सार्वजनिक

काठमाडौं – नेपालीहरूको महान पर्व विजया दशमीको अवसरमा प्रेरणादायी गीत “नेपालीको मन” आधिकारिक रूपमा सार्वजनिक भएको छ । गीतलाई आधिकारिक रूपमा गायक दिनेश खड्काको युट्युुव मार्फत सार्वजनिक गरिएको छ।
यो गीतले जेन जि आन्दोलनपछि नेपाली समाजमा सद्भावना, आत्मबल, र सकारात्मक सोचको महत्वलाई उजागर गर्ने उद्देश्य राखेको छ।
गीतको माध्यमबाट, वर्तमान सामाजिक र व्यक्तिगत चुनौतीहरूबीच पनि आशा र विश्वास कायम राख्नका लागि सबै नेपालीलाई प्रेरित गर्ने सन्देश प्रवाह गरिएको छ । गीतमा निराशालाई आशामा बदल्ने, आत्मबलको महत्व र देशप्रतिको मायालाई विशेष रुपमा उजागर गरिएको छ।
गीतमा शब्द सृजना तथा गायन दिनेश खड्काको रहेको छ भने संगीत सृजना विजय सापकोटाले गर्नुुभएको छ ।
गीतको संगीत संरचना र लय आधुनिक श्रोताहरूको रुचि अनुसार छ, भने शब्दहरूले भावनात्मक गहिराई प्रदान गरेको छ । गीतमा प्रयोग भएका धुन, ताल, र शब्दहरूले नेपाली जनमानसमा सकारात्मक सोच र उत्साह जगाउने प्रयास गरेको गायक दिनेश खड्काले बताएका छन् ।
गीतको सार्वजनिक भएसँगै यसले नेपाली संगीत क्षेत्रमा नयाँ प्रेरणाको सृजनात्मक पहलको रुपमा चर्चा पाउने अपेक्षा गरिएको छ । टिम “नेपालीको मन” का अनुसार, यो गीतले केवल मनोरञ्जन मात्रै नभई सामाजिक सन्देश प्रवाह गर्ने र नेपाली जनमानसमा आत्मविश्वास र उत्साह थप्ने उद्देश्य राखेको छ ।
गीत निर्माण टिमले सबै देशभक्त नेपाली संगीतप्रेमी, युवा वर्ग, र आम दर्शक–श्रोताहरूलाई गीत सुन्न, हेर्न र आफ्ना प्रतिक्रिया व्यक्त गर्न हार्दिक अनुरोध गरेको छ। साथै, गीतलाई धेरैभन्दा धेरै शेयर गरेर समाजका विभिन्न वर्गसम्म पुर्याउन आग्रह गरिएको छ।
यस गीतलाई यहाँ सुन्न र हेर्न सकिन्छः

शान्तिमा जारी फुटबलमा सेमिफाइनल समिकरण पूरा

तिलोत्तमा, असोज ५ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगितामा आइतबार क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आइतबार भएका खेलहरुबाट सेमिफाइनल समिकरण पूरा भएको हो ।
आज भएको खेलबाट शान्ति नमुना मा.वि., केरवानी मा.वि., देवदह इङ्गलिस बोर्डिङ् र अक्सफोर्ड मा.वि. सेमिफाइनलमा प्रवेश गरेको विद्यालयका सुचना संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
शान्तिले नेपथ्य कलेजलाई, केरवानीले लुम्बिनी सिटि कलेजलाई, देवदहले अक्सफोर्ड कलेजलाई र अक्सफोर्ड मा.वि.ले स्कलर्श होमलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् । आजका सबै खेल २–० को गोल अन्तरमा टुगिंएका थिए ।
सोमबार साँझ ४ बजे हुने पहिलो सेमिफाइनल खेलमा केरवानी मा.वि.ले अक्सफोर्ड मा.वि. को सामना गर्नेछ भने साँझ ५ बजे हुने दोस्रो सेमिफाइनल खेलमा शान्ति नमुना मा.वि. र देवदह इङ्गलिस बोर्डिङ् आमने सामने हुने छन् ।
प्रतियोगितामा १७ समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।

 

नेपाल शिक्षक सङ्घ तिलोत्तमाद्वारा उद्घोषण तथा व्यक्तित्व विकास तालिम

नेपाल शिक्षक सङ्घ तिलोत्तमाको आयोजनामा सञ्चालित पाँचदिने उद्घोषण (एंकरिङ) तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । जेठ २७ गतेदेखि सञ्चालित तालिम पाँच दिनसम्म चलेको हो । उक्त तालिममा २७ जना सहभागीहरूले सक्रिय सहभागिता जनाएका थिए।
तालिममा प्रशिक्षकको रूपमा प्रशिक्षण विशेषज्ञ दिनेश खड्काले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण अवधिभर सहभागीहरूले उद्घोषण कला, मञ्च संचालनका सीप, आवाजको प्रयोग, प्रस्तुतीकरण शैली, तथा आत्मविश्वास विकास जस्ता महत्वपूर्ण पक्षहरूमा ज्ञान तथा व्यवहारिक अभ्यास प्राप्त गरेका थिए।
कार्यक्रमको समापन समारोहमा बोल्दै नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य कुल प्रसाद लामिछानेले उद्घोषण कला शिक्षालय तथा विद्यालय गतिविधिमा अत्यन्त उपयोगी हुने भन्दै यस्ता तालिमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । तालिमका सहभागीहरूले पनि आफूले सिकेका सीपहरू विद्यालय तथा समुदाय स्तरमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा पशुपति मा.वि.का प्रधानाध्यापक बेदनारायण भट्टराई, नेपाल शिक्षक सङ्घ तिलोत्तमा अध्यक्ष प्रचण्ड जि.सी. लगायतले शुभकामना दिनुभएको थियो ।
प्रशिक्षार्थी कृष्ण प्रसाद कंडेलको अध्यक्षता तथा सुस्मिता लामिछानेको स्वागतमा भएको समापन कार्यक्रममा तालिममा सहभागिहरुले आआफ्नो अनुभव राख्ने तथा विभिन्न प्रतिभा प्रदर्शन समेत गरेका थिए ।
तालिम संयोजक खेमानन्द चापागाईको संयोजनका भएको तालिमको समापन समारोहको सञ्चालन सरस्वती पाण्डे, ममता पौडेल, मिरा भुषाल, करिष्मा शर्मा, शर्मिला ढकालले संयुक्त रुपमा गर्नुभएको थियो ।

शान्ति नमुनामा शैक्षिक पुरस्कार वितरण

तिलोत्तमा, जेठ २ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शैक्षिक पुरस्कार वितरण गरिएको छ । शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्राथमिक तहबाट २ सय ६५ र कक्षा १ देखि ९ सम्मका कक्षागत रुपमा उत्कृष्टता हासिल गर्ने १ सय ६४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहित पुरस्कृत गरिएको हो ।
सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यको सञ्चालनमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य कौशिला रायमाझी, विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेल, मा.वि. तह संयोजक धर्मगत शर्मा , प्राथमिक तह संयोजक बसन्ती भण्डारी, कक्षा ४–५ संयोजक सीता पुर्जा लगायतले पुरस्कृत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

तस्विरः प्रकाश चापागाइ

 

शान्ति नमुनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने

रुपन्देही,माघ २४ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना मा.वि.ले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । रुपन्देही जिल्ला भित्रका विद्यालयहरुबीच आत्मीयता कायम गर्दै विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयो ।
प्रतियोगितामा रुपन्देहीमा रहेका विद्यालयहरुबाट एक जना छात्रा अनिवार्य रहने गरी तीन जना विद्यार्थीले सहभागीता जनाउनेछन् । प्रतियोगितामा करीव ५० विद्यालयको सहभागिता रहने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता यही माघ २८ गते आइतबार दुइ चरणमा हुनेछ । लिखित चरणबाट छनौट भएका ६ वटा विद्यालयका विद्यार्थीहरुबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु.१२ हजार, द्वितीय हुनेलाई नगद रु. ९ हजार, तृतीय हुनेलाई नगद रु. ७ हजार र प्रोत्साहन स्थान प्राप्त गर्ने समूहलाई रु. ४ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक मोहन पौडयालले बताउनुभयो ।
वार्षिकोत्सजको अवसरमा माघ २८ गते खाना महोत्सव, २९ गते रक्तदान र फागुन २ गते मूल समारोहको कार्यक्रम हुनेछ । सो अवसरमा छात्रवृत्ति, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, १२ कोठे भवनको समुद्घाटन, ३६ कोठे भवनको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

 

कविताः अनुत्तीर्ण देश

-दिनेश खड्का, रूपन्देही

अग्लो र सग्लो सपनाको उदय भयो

सगरलाई छुँदै सात सागर तर्ने

सबैमाझ सानकाे जिन्दगी बाँच्ने,

र सबैमाझ सानको जिन्दगी मर्ने ।

हजारौँ सपना साकार पार्नका लागि

ठूलो सपना पूरा भएको छ आज मेरो

किनकी म कक्षा बाह्र उत्तीर्ण भएको छुँ

मेरो देश अनुत्तीर्ण भएर के भो र !

 

मकैझैँ मक्कि सकिएकी मेरी माता

छानोझैँ खरको खल्की सकेका मेरा पिता

एक्लै बस्न सक्छन् गाउँको झुपडीमा

एक्लिएको चौताराको बरजस्तै

अनि एक्लिएको पहेँलो पीपलजस्तै ।

मलाई मेरो मपाईँत्व जनाउनका लागि

मलाई मेरो प्रतिष्ठा बनाउनको लागि

न त बा र आमाको मायाले रोक्छ

न त मातृभूमिको माटोले नै छेक्छ

किनकी म कक्षा बाह्र उत्तीर्ण भएको छुँ

मेरो देश अनुत्तीर्ण भएर के भो र !

 

म विदेश जाने खबर सुनेको दिनदेखि

विश्वविद्यालयका विद्वान विच्किए रे

भनेछन् सल्बलाउदै सहकर्मीलाई सुटुक्क–

विद्यार्थी नै नेपाल नबसे कसलाई पढाउने ?

विद्यार्थी नै नभए दिनचर्या कसरी कटाउने?

कन्सलटेन्सीकी दिदी भने खुब खुसी भइछिन्

भनिन–ल बधाई छ अब बलियो बाटो खुल्यो,

समुन्द्रको तटमा उभिएर तस्विर लिने

मस्त मातिएर चट्ट चुस्की लिने र पिने

किनकी म कक्षा बाह्र उत्तीर्ण भएको छुँ

मेरो देश अनुत्तीर्ण भएर के भो र !

 

मैले देश छोड्दा देश नै दुःखी कहाँ छ र ?

विश्वविद्यालयभन्दा विमानस्थल जा भन्छ

विद्याले होइन विप्रेषणले मात्र पो देश बन्छ

माटो छोडेर बाटो तताउने बनाएपछि

मातृभूमिले नै मौन स्विकृति जनाएपछि

देश छोड्दैछु मैले अरुले छोडेजस्तै

थाहा छैन देश मात्रै छोड्छु या श्वास पनि

माटो र माया मात्रै छोड्छु या विश्वास पनि

थाहा छैन जहाजमा गएर म कसरी फर्किन्छु

बाकसमा सम्पति हुन्छ या मेरो शरीर मात्र ।

अन्ततः साथीसंगी सबैले सफर गरेपछि

म नि जन्मभूमि छाड्दैछु दबाबमा परेपछि

किनकी म कक्षा बाह्र उत्तीर्ण भएको छुँ

मेरो देश अनुत्तीर्ण भएर के भो र !

 

कविता : सम्झौता

-दिनेश खड्का

बाले कलिलो कान ननिमोठेको भए,

आमाले आगनमा एक्लै नछाडेको भए,

आज अरुको आलोचना सुन्ने तागत

कहाँबाट आउथ्यो होला र मलाई ?

आज भिडमा एक्लै उभिने आँट

कहाँबाट पो जुट्थ्यो होला र मलाई ?

 

खोलाको खोल्सामा खसेको भएर होला

डुबुल्की मार्दा डुबेको भएर पनि होला

जीवनमा कैंयौ पटक खस्दा पनि आत्तिइनँ म

समस्याका सागरमा पनि आत्तिइनँ म,

झनै बलियो भएको छु म आज फेरि

खाडलमा खस्दा पनि र खसाइँदा पनि

डुबानमा डुब्दा पनि र डुबाइँदा पनि ।

 

भुइँको काफल पनि मिठो लाग्थ्यो

चराले चाखेको जुठाे खल्दुक पनि

आधा रोटीमा पनि त अघाइन्थ्यो

भात र चिया पनि त सँगै चबाइन्थ्यो

मेरो रोजाइका पाटा नै कहाँ हुन्थे र,

मेरो सोचाइका बाटा नै कहाँ हुन्थे र,

त्यसैले आज सहरको असहजतामा पनि

सब थोक सहज र सरल लाग्छ मलाई

केही र कोही हुँदा पनि र नहुँदा पनि

केही र कोही पाउँदा पनि र गुमाउँदा पनि ।

 

मोजाको बल नै विश्व थियो बालापनमा

स्वार्थभन्दा धेरै परका सङ्गीहरु थिए साथमा

न त जात चाहिन्थ्यो खेल्न न त धर्म नै

सबैजना सँगै चोर बन्दा पनि चिन्ता थिएन

सबै मस्त मुर्गा बन्दा पनि आत्मग्लानि थिएन

आज स्वार्थले साइनो लाउनेहरु उस्तै छन्

जता हे¥यो चारैतिर दुषित मन दुरुस्तै छन् ।

कपडा फेरे जस्तो सम्बन्ध मिल्दैन फेर्न

स्वास छोडे जस्तो साथ मिल्दैन छोड्न ।

अल्झिरहनु पर्छ कपालको रौं जस्तैगरी

आफूलाई मन परे पनि मन झरे पनि ।

 

आजकल तिमीलाई जस्तै मलाई पनि–

न त आगोले झैँ अत्याउँछ आलोचनाले

न त महले झै मत्याउँछ मलाई प्रशंसाले

मन स्थिर छ, मुटु मक्किएको भए तापनि

साहस जीवित छ, स्वार्थी सहरको संसारमा

अनि,दौडेर सानैमा बरालिएको गाउँ पुग्छ मन

तर टक्क अडिन्छन् अनायासै पाइलाहरु

फर्केर फेरि आउँछु त्यही लत्रिएको लयमा

किनकि म समयले बाँधिएको छु उसैगरी

तैपनि गुनासो छैन समयसँग कसैगरी

किनकि करार गरेको छु मात्र केही वर्षको

किनकि सम्झौता छ धेरै दर्द–कम हर्षको ।

 

© Sabal Post. 2026 All rights reserved. | Technology Partner: LgmNepal