शान्ति नमुनामा गड्यौला पालनका लागि अभिमुखिकरण

तिलोत्तमा,असार २३ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा गड्यौला पालनका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
एक विद्यार्थी एक सिप कार्यक्रम अन्तरगत प्राङगारिक मल बनाउन गड्यौला पालन सम्बन्धी अभिमुखिकरण गरिएको हो । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुमध्ये छनौटमा परेका १ सय जना विद्यार्थीहरुलाई तालिम दिन लागिएको हो ।
कार्यक्रमममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले यस तालिमबाट विद्यार्थीहरुलाई सिपयुक्त व्यक्ति बनाई उनीहरुलाई आयआर्जनमा समेत लाग्न सहज हुने गरी तालिम दिइने बताउनुुभयो ।
कार्यक्रममा पार्वती पशु तथा कृषि फार्मका सञ्चालक तथा प्रशिक्षक आषिश लामिछानेले सहजिकरण गर्नुभएको थियो । उहाँले गड्यौला पालनका फाइदा , विधि, प्रजातिहरु लगायतका विषयमा अभिम’खिकरण गर्न‘भएको थियो ।
विद्यार्थीहरुलाई दोस्रो चरणको तालिम प्रदान गरेर व्यवस्थित तरिकाले गड्यौला पालन र मल उत्पालनका लागि योग्य बनाउने कार्यक्रम रहेको विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यले जानकारी दिनुभयो ।
यसैबिच, शुक्रबारीय कार्यक्रम अन्तरगत कक्षा प्ले गु्रपदेखि यूकेजीमा एल्लो कलर डे, कक्षा १ देखि ३ सम्म विद्यालय अवलोकन कार्यक्रम, कक्षा ४ र ५ का विद्यार्थीहरुको मोक्षधान मानव सेवा आश्रम भ्रमण र कक्षा ७ देखि ९ सम्म कथा निर्माण र वाचन कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।

 

शान्ति नमुनामा ह्याकाथन कार्यक्रम

तिलोत्तमा, जेठ २८ ।रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा नगरस्तरीय अन्तर विद्यालय ह्याकाथन कार्यक्रम भएको छ ।
तिलोत्तमा नगरपालिकाको एक विद्यालय–एक सिर्जनशील कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुबीच प्रविधिमा आधारित प्रतिस्पर्धात्मक कार्यक्रम गरिएको हो । सामाजिक तथा आर्थिक विकासको क्षेत्र अन्तरगत देखा पर्ने विभिन्न प्राविधिक सस्याहरु पत्ता लगाएर त्यसको समाधानको लागि विभिन्न एप्लिकेशन तथा वेव साइट डिजाइन गरी प्रस्तुत गरिएको थियो । विद्यार्थीहरुले १८ वटा एप्लिकेशनहरु तयार गरी प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा शान्ति नमुना मा.वि.का विद्यार्थीहरु प्रवेश खनाल, विष्णु खनाल र शिव यादवको प्ले स्टोर समुह प्रथम भएको छ । यस्तै शान्ति नमुना मा.वि. कै विद्यार्थीहरु हार्दिक चापागाँई ,रसिस पाठक र सन्जय भण्डारीको युट्युव समुह द्धितीय भएको छ भने शान्तिकै सुदिप बस्याल, विनय भट्टराई र राजन टण्डनको ट्विटर समुह तृतीय भएको छ । शंकरनगर दुर्गादत्त मा.वि. का विद्यार्थीहरु हर्षिता घिमिरे, सदिक्षा कंडेल र डेभेन सुनारको क्विक हिल समुहले प्रोत्साहन स्थान हासिल गरेको छ ।
विद्यार्थीहरुले एचटिएमएल, सिएसएस, सि प्लस प्लस, जाभा स्किृप्ट जस्ता कम्प्युटर प्रोग्रामको प्रयोग गरेर एप्लिकेशनहरु तयार पारेको प्रतियोगिताका संयोजक शेखर पौडेलले बताउनुभयो ।
शान्ति नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा वडा नं. ५ का अध्यक्ष रमेश डुमे्र, वडा नं ६ का अध्यक्ष गणेश पाठक, नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, शान्ति नमुनाका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधव अर्याल, नगर कार्यपालिका सदस्य रवि सेन्चुरी लगायतले बोल्दै कार्यक्रमले विद्यार्थीको रुची र क्षमतालाई पहिचान गर्न सकेको बताउनुभयो । यस क्षेत्रमा विल्कुलै फरक र नयाँ कार्यक्रम रहेको भन्दै उहाँहरुले यसको निरन्तरतामा जोड दिनुभयो ।
कार्यक्रमको सञ्चालन पारस चापागाँईले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रकाश चापागाँईले राख्नुभएको थियो । प्रतियोगिताको मूल्याङ्कनकर्ताको रुपमा अनन्त पाण्डे, शिव भट्टराई र सुसान्त मल्लले योगदान पु¥याउनु भएको थियो ।

 

शान्तिका सहयाेगी साथीहरू पुरष्कृत

तिलोत्तमा, जेठ २१ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका सहयाेगी साथीहरूको रुपमा योगदान पु¥याउने विद्यार्थीहरुलाई पुरष्कृत गरिएको छ ।
कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाई भएका विद्यार्थीहरुलाई सोही कक्षामा अध्ययनरत विद्यार्थीहरुले सहयाेगी साथीकाे रुपमा सिकाईमा मद्धत गरेर उत्तीर्ण बनाउन सफल भएका थिए । शैक्षिक सत्र २०७९ मा योगदान दिने करीव १ सय ५० जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री सहित पुरष्कृत गरिएको हो ।
निम्न माध्यमिक तहका संयोजक मोहन पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले सहयाेगी साथी  मार्फत सिकाईमा सहजिकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको र यसले सिकाइ प्रक्रियालाई सहजता थपेको बताउनुभयो ।
पुरस्कार वितरण कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्काले गर्नुभएको थियो भने विद्यार्थीहरुले आफ्नो विभिन्न कला समेत प्रदर्शन गरेका थिए ।
शान्ति नमुनामा २०७६ सालदेखि निरन्तर रुपमा सहयाेगी साथी कार्यक्रम चलिरहेको छ ।

शान्ति नमुनामा अभिभावक भेला

तिलोत्तमा, फागुन ३० । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज मंगलबार अभिभावक भेला गरिएको छ ।
कक्षा ९ मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरुले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान तथा उनीहरुलाई गर्नुपर्ने प्रेरणाका सम्बन्धमा छलफल गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले अभिभावकहरुले राख्नुभएको जिज्ञासा समाधान गर्दै विद्यालयका गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापकहरु किशोर कुमार खनाल, लोकनाथ कंडेल, दिपेन्द्र शाक्य, मा.वि. तह संयोजक धर्मगत शर्माले विद्यार्थीका अभिभावकलाई परामर्श दिनुभएको थियो । कार्यक्रमको सहजिकरण कक्षा ९ का संयोजक रजनी के.सी.ले गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा ९ मा अध्ययनरत ५ सय ८६ जना विद्यार्थीहरुका अभिभावहकहरुको सहभागिता रहेको थियो ।

शान्तिमा तिलोत्तमा नगरस्तरीय भलिवल प्रतियोगिता हुने

तिलोत्तमा, फागुन १९ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको आयोजना तथा तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्र तथा छात्राहरुबीच प्रतियोगिता हुन लागेको हो ।
फागुन २० गतेदेखि शुरु हुने प्रतियोगितामा १२ विद्यालयको सहभागिता रहने छ । प्रतियोगिता मार्फत नगर भित्रका विद्यालयहरुबीच सद्भाव र आत्मीयता बढाउने उद्धेश्य प्रतियोगिता राखिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो ।
नगरस्तरीय प्रतियोगिताले नगरभित्रका विद्यायहरुबीच सहकार्यको भावनामा बृद्धि हुने अपेक्षा सहित विद्यार्थीहरुबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ तिलोत्तमा नगरपालिकाले सहकार्य गरेको नगर प्रमुख रामकृष्ण खाँणले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु. ३० हजार, द्वितीय हुने समुहले २० हजार र तृतीय हुने २ समुहले १० हजार सहित मेडल र ट्रफि प्राप्त गर्ने प्रतियोगिताका संयोजक राजेन्द्र के.सी.ले बताउनुभयो ।
फागुन २० गते हुने उद्घाटन खेल छात्रातर्फ आयोजक शान्ति नमुना र सेन्ट जोसेफ बोर्डिङ् स्कुलबीच हुने प्रतियोगिताका सञ्चार संयोजक दिनेश खड्काले जानकारी दिनुभयो । यस्तै छात्रातर्फ दोस्रो खेलमा सिद्धार्थ इङ्गलिश बोर्डिङ् स्कुल र न्यू इन्भाइरमन्ट बोर्डिङ् स्कुलबीच हुनेछ भने अर्को खेलमा गिर्वाण मा.वि. र नवज्योति बोर्डिङ् स्कूल आमने सामने हुनेछन्। कुवँरवर्ती बोर्डिङ् स्कुलले भने बाई प्राप्त गरेको छ ।
यस्तै छात्रतर्फ पहिलो खेल गिवार्ण मा.वि. र जनता मा.वि.बीच हुनेछ भने दोस्रो खेल शंकरनगर दुर्गादत्त मा.वि.र जनज्योति मा.वि.बीच हुनेछ ।
त्यस्तै अर्को खेलमा पशुपति मा.वि. विरुद्ध नमुना मा.वि. र न्यू इन्भाइरमेन्ट विरुद्ध नव ज्योति बोर्डिङ् स्कुल आमने सामने हुनेछन् ।
छात्रतर्फ आयोजक शान्ति नमुना मा.वि., कुँवरवर्ती बोर्डिङ् स्कुल, सिद्धार्थ बोर्डिङ् स्कुल र सेन्ट जोसेफ बोर्डिङ् स्कुलले बाई प्राप्त गरेका छन् ।

 

शान्ति नमुनाले मनायो ६४ औं वार्षिकोत्सव-समाजको प्रगतिका लागि शिक्षा अनिवार्य :मुख्य मन्त्री गिरी

रुपन्देही, माघ १२ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले देश र समाजको प्रगतिको लागि शिक्षाको गुणस्तर अनिवार्य सर्त रहेको बताउनुभयो । समग्र सामाजिक रुपान्तरणका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने र त्यसका लागि शान्ति नमुनाले आगामी दिनमा समेत उदाहरणिय शैक्षिक अवस्थालाई कायम राख्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, सर्वोच्च अदालतका पूर्व न्यायधिश तेज बहादुर के.सी.लगायतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पु¥याउने प्रतिबद्धता जनाउदै शुभकामना दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तरका लागि विद्यार्थी संख्याका आधारमा जनशक्ति तथा पूर्वाधारको अभाव भएको भन्दै राज्यले शिक्षा क्षेत्रमा दायित्व र दायरा बढाउनुपर्नेमा जोेड दिनुभयो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकासका लागि योगदान पु¥याउने ३१ जना शिक्षक कर्मचारी, १ जना निवृत शिक्षक, ४ जना विद्यालयका सल्लाहकार , ३ जना विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक अभिभावक संघका अध्यक्ष, १४ जना उत्कृष्ट अभिभावक र २ जना अक्षयकोषदातालाई सम्मान गरिएको थियो । यस्तै विद्यालयलाई विविध क्षेत्रमा सहयोग गर्ने रिड नेपाल र कामना बैंकलाई सस्थागत सम्मान गरिएको थियो ।


यसैगरी विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी यस वर्ष उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ४५ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने एस.इ.इ. उत्तीर्ण ३ सय ७३ जना र कक्षा १२ उत्तीर्ण ३ सय ८१ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
यस्तै विभिन्न दाताहरुले स्थापना गरेका ५७ वटा अक्षकोषबाट २ सय ८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो भने सिटिइभिटीतर्फ सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने ३ जना विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।
यसैगरी इलेक्ट्रिक कार बनाउने विद्यार्थी सुवास क्षेत्री, अन्तर्राष्ट्रिय खेलकूदमा विभिन्न मेडल प्राप्त गर्न सफल ४ जना खेलाडीलाई समेत सम्मान गरिएको थियो ।
यस्तै, शान्ति नमुनाले आयोजना गरेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने रामापुर मा.वि.लाई नगद रु.१० हजार, द्वितीय हुने बुद्ध पब्लिक बोर्डिङलाई नगद रु.७ हजार, तृतीय हुने ग्रिन प्लान्ट बोर्डिङलाइ नगद रु. ५ हजार र प्रोत्साहन स्थान प्राप्त प्यारामाउण्ट बोर्डिङ्लाई नगद रु. ३ हजार, प्रमाणपत्र र मेडल सहित पुरस्कृत गरिएको प्रतियोगिताका संयोजक मोहन पौड्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अंग्रेजी माध्यम संयोजक दिपेन्द्र शाक्य, दश जोड दुईका संयोजक राजेन्द्र के.सी. र कक्षा १० का संयोजक शेखर पौडेलले गर्नुभएको थियो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयकाे वार्षिक मुखपत्र नानीकाे  विमाेचन गरिएकाे थियाे भने विद्यार्थीहरुले परम्परागत नृत्य, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए भने नृत्य शिक्षक रन्जित भण्डारीले संयोजन गर्नुभएको थियो ।
विद्यालयमा हाल करिव ५५ सय विद्यार्थीहरु अध्ययनरत छन् भने १ सय ७५ जना शिक्षक कर्मचारी कार्यरत छन् ।
यसैबीच, शिक्षा क्षेत्रमा योगदान पु¥याउने पत्रकार कपिल ज्ञवालीलाई पुरस्कृत गरिएको छ । स्व. फत्त बहादुर/देउमती काउँचा स्मृति पत्रकारिता पुरस्कारबाट ज्ञवालीलाई नगद, दोसल्ला तथा करुवा सहित पुरष्कृत गरिएको हो । बुद्ध टेलिभिजनका समाचार सम्पादक रहनुभएका ज्ञवालीलाई शान्ति नमुना मा. वि. सहित सामुदायिक विद्यालयहरुको उत्थान र स्तरवृत्तिका लागि पत्रिकारिताको माध्यमबाट गरेको योगदान स्वरुप सम्मान गरिएको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

शान्ति नमुनाको हाजिरी जवाफको उपाधि रामापुर मा.वि.लाई

तिलोत्तमा , माघ ९ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले सोमबार जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ ।
रुपन्देही जिल्लाका ४० वटा विद्यालय सहभागी भएकोमा रामापुर माध्यमिक विद्यालय प्रथम भएको छ । रामापुरले नगद रु.१० हजार , ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै द्वितीय भई बुद्ध पब्लिक बोर्डिङ स्कुलले नगद रु.७ हजार, तृतीय भई ग्रिन प्लान्ट बोर्डिङ स्कुलले नगद रु ५ हजार र प्रोत्साहन स्थान प्राप्त प्यारामाउण्टले नगद रु. ३ हजार, प्रमाणपत्र र मेडल प्राप्त गरेको प्रतियोगिताका संयोजक मोहन पौडेलले जानकारी दिनुभयो ।
यसअघि उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले विद्यार्थीबिच मित्रताको भावना जगाउँदै उनीहरुमा सृजनशिलता थप्न यस प्रकारका कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । नगर प्रमुख खाँडले सामुदायिक र संस्थागत विद्यालय एकै सिक्काका दुई पाटा भएको बताउँदै दुबैको सहकार्य जरुरी रहेको औल्याउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईले बालबालिकालाई पढ्ने वातावरण सहज रूपमा बनाउनुपर्नेमा जोड दिनुभयो । यस्तै पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले हरेक कुरामा विद्यार्थीहरूलाई अग्रसर गराउनु विद्यालय र अविभावकको दायित्व भएकोमा जोड दिनुभयो ।
विद्यालयका प्राचार्य कुल प्रसाद लामिछानेले जिल्लाभरका विद्यालयहरुबीच सद्भाव, सहकार्य र आत्मीयता अभिवृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गरिएको भन्दै आगामी दिनमा अझ रचनात्मक कार्यक्रम मार्फत सामुदायिक विद्यालयको गरिमा माथि उठाउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमको सञ्चालन शिक्षक रजनी के.सी. र सुबोध खनालले गर्नुभएको थियो ।
यसैबीच ६४ औं वार्षिकोत्सवका अवसरमा सोमबार विद्यालयमा रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा ३० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विष्णुप्रसाद अर्यालले जानकारी दिनुभयो । युवा रेडक्रस सर्कल शान्ति नमुना माविको अयोजनामा भएको सो कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।
त्यस्तै सोमबार फुड फेस्टिबल समेत आयोजना गरिएको थियो । कक्षा आठ , नौ , एघार , बाह्र र डिप्लोमा इन होटल म्यानेजमेन्टका विद्यार्थीहरूको सहभागीमा फुड फेस्टिबलको आयोजना गरिएको हो । विद्यार्थीहरूले आवश्यक सामग्रीहरूको व्यवस्थापन आफै गरेर खानाका विभिन्न परिकार बनाएको कार्यक्रम संयोजक सुशिला पाण्डेले जानकारी दिनुभयो । फुड फेस्टिबलमा विद्यार्थीहरूले पास्ता , मम , फुल्की , चटपट , सेलरोटी , अचार , ढिकरी , मन्चुरियन , पकौडा लगायतका परिकार बनाएका थिए ।
वार्षिकोत्सवको मुल कार्यक्रम माघ १२ गते हुनेछ । वार्षिकोत्सवका अवसरमा पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, नानी पत्रिकाको बिमोचन, सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सूचना संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

शान्ति नमुनामा खेल सप्ताह शुरु

रुपन्देही, माघ ३ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माविको ६४ औं वार्षिकोत्सको अवसरमा मंगलबारदेखि खेल सप्ताह शुरु भएको छ ।
आज भएको १०० मिटर दौड अन्तर्गत कक्षा ६ मा छात्रतर्फ नेत्र बानिया प्रथम, तिलक बुढा मगर द्वितीय र अविरल गौतम तृतीय भएका छन् । छात्रातर्फ गरिमा गुप्ता प्रथम, मुस्कान सुनार द्वितीय र दिपिका बयम्बु तृतीय भएका छन् । त्यसैगरी १०० मिटर दौड अन्तर्गत कक्षा सातमा छात्रतर्फ प्रकाश बानिया प्रथम, रामु गौडेल द्वितीय र लक्ष्मण गौडेल तृतीय भएका छन् भने छात्रातर्फ निकिता ज्ञवाली प्रथम, सुरक्षा घिमिरे द्वितीय र पुर्णिमा थारु तृतीय भएका छन् ।
यसैगरी १०० मिटर दौड अन्तर्गत कक्षा ८ मा छात्रतर्फ आकाश नेपाली प्रथम, विक्रम गाहा द्वितीय र जोसेफ सारु तृतीय भएका छन् । छात्रातर्फ एन्जेल सारु प्रथम, अन्सु उप्रेती द्वितीय र सावित्रा गौडेल तृतीय भएका छन् । त्यसैगरि कक्षा ९ मा छात्रतर्फ सुजन सुनार प्रथम, शिव खनाल द्वितीय र विकास श्रेष्ठ तृतीय भएका छन् भने छात्रा तर्फ अस्मिता परियार प्रथम, आयुशा आचार्य द्वितीय र अन्किता भुषाल तृतीय भएका छन् ।
आजै भएको ब्याडमिन्टन प्रतियोगितामा कक्षा ६ मा छात्रतर्फ लिकेश पाण्डेय प्रथम, आयुष पाण्डे द्वितीय र उत्सव खरेल तृतीय भएका छन् । छात्रातर्फ खुश्बु थापा प्रथम, बन्दना भुषाल द्वितीय र मुस्कान सुनार तृतीय भएका छन् ।
यसैगरी आजै भएको बाघचाल प्रतियोगितामा कक्षा ६ मा छात्रतर्फ रोशन थापा प्रथम भएका छन् भने कक्षा सातबाट मनिषा पाण्डे प्रथम भएकी छन् । कक्षा आठमा छात्रतर्फ रोशन अर्याल प्रथम भएका छन् भनें छात्रातर्फ प्रतिभा लम्साल प्रथम भएकी छन् । कक्षा नौमा छात्रतर्फ बिपिन काफ्ले प्रथम भएका छन् भनें छात्रातर्फ आयुशा आचार्य प्रथम भएकी छन् ।
खेलकुद सप्ताह अन्तर्गत फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, कबड्डी, एथलेटिक्स लगायतका खेलहरु सञ्चालन हुने विद्यालयमा अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।
वार्षिकोत्सजको अवसरमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता, रक्तदान, साहित्यिक कार्यक्रम, खाना महोत्सव, पढाई महोत्सव, सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम समेत हुने विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयाे ।  ।

शान्ति नमुनाले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने

रुपन्देही, पुष २८ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना मा.वि.ले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । रुपन्देही जिल्ला भित्रका विद्यालयहरुबीच सद्भाव, सामीप्यता तथा आत्मीयता कायम गर्दै विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयो ।
प्रतियोगितामा रुपन्देहीमा रहेका विद्यालयहरुबाट एक जना छात्रा अनिवार्य रहने गरी तीन जना विद्यार्थीले सहभागीता जनाउनेछन् । प्रतियोगितामा करीव ५० विद्यालयको सहभागिता रहने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता आगामी माघ ९ गते सोमबार दुइ चरणमा हुनेछ । लिखित चरणबाट छनौट भएका ६ वटा विद्यालयका विद्यार्थीहरुबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु.१० हजार, द्वितीय हुनेलाई नगद रु. ७ हजार, तृतीय हुनेलाई नगद रु. ५ हजार र प्रोत्साहन स्थान प्राप्त गर्ने समूहलाई रु. ३ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक मोहन पौडयालले बताउनुभयो ।

 

शान्तिमा प्राविधिक कक्षाको शुभारम्भ

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमूना माध्यमिक विद्यालयमा सञ्चालित प्राविधिक कक्षाहरुको आइतबार शुभारम्भ कार्यक्रम गरिएको छ । विद्यालयमा यस वर्षदेखि सञ्चालित ३ बर्षे डिप्लोमा इन होटल म्यानेजमेन्ट, १८ महिने प्रिडिप्लोमा इन मेकानिकल इन्जिनियरिङ, २४ महिने प्रिडिप्लोमा इन मेकानिकल इन्जिनियरिङका कक्षाहरुको शुभारम्भ गरिएको हो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लुम्बिनी प्रदेशका निर्देशक गोपाल आचार्यले कार्यक्रमको शुभारम्भ गर्दै आजको युगमा व्यक्तिलाई सवल र सक्षम बनाउनका लागि प्राविधिक शिक्षा अनिवार्य रहेको धारणा राख्नुभयो ।
विद्यालयका कार्यवहाक अध्यक्ष भगवती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका सूचना अधिकारी लाल बहादुर बस्नेत, इन्स्योर परियोजना प्रमुख निर्मला मैनाली, शान्ति नमुनाका प्राविधिक शिक्षा संयोजक भिम प्रसाद पाण्डे लगायतले वर्तमान परिवेशमा प्राविधिक शिक्षाको महत्वका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने सहायक प्रधानाध्यापक किशोर कुमार खनालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
शान्तिमा यस वर्षदेखि सञ्चालित ३ बर्षे डिप्लोमा इन होटल म्यानेजमेन्ट कार्यक्रम लुम्बिनी प्रदेशमै सामुदायिक विद्यालयतर्फ एकमात्र रहेको छ । यस्तै १८ महिने प्रिडिप्लोमा इन मेकानिकल इन्जिनियरिङ र २४ महिने प्रिडिप्लोमा इन मेकानिकल इन्जिनियरिङका कक्षाहरु सामुदायिक विद्यालयतर्फ नेपालभरमा एकल कार्यक्रमहरु रहेको विद्यालयले जनाएको छ ।

© Sabal Post. 2023 All rights reserved. | Technology Partner: LgmNepal